आइतबार, असार २२, २०८२

मुकेश कायस्थलाई शहीद घोषणा

नेपालखोज २०८० जेठ २ गते १७:५७

काठमाडौं । सरकारले जिउँदो शहीद भनेर चिनिएका मुकेश कायस्थलाई शहीद घोषणा गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले उनलाई शहीद घोषणा गरेको हो । २०६२/०६३ को दोस्रो जनआन्दोलनका क्रममा घाइते भएका काभ्रेका कायस्थको वैशाख २८ गते निधन भएको थियो ।

त्यसैगरी आजको मन्त्रिपरिषद्ले सिँचाइ मन्त्रालयको प्रस्तावमा नयाँ बुटवल–लमही ४०० केबी प्रसारण लाइनअन्तर्गत मोतीपुर सवस्टेशनको लागि वाणगङ्गा नगरपालिकामा १५ बिघा जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारबाही चलाउनको निम्ति अधिकारी तोक्ने निर्णय पनि गरेको छ ।

सरकारका प्रवक्ता शर्माले सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रस्तावमा राष्ट्रिय योजना आयोग सदस्य डा. जयकान्त राउत नेतृत्वको प्रतिनिधिमण्डललाई यही जेठ १ देखि ५ गतेसम्म थाइल्याण्डमा हुने स्क्यापको ७९औँ बैठकमा भाग लिन जान स्वीकृति दिने निर्णय भएको पनि जानकारी दिइन् ।

जुम्लाको जुम्ला विमानस्थलको धावनमार्ग विस्तार तथा टर्मिनल भवन निर्माणको निम्ति करिब एक सय ८३ दशमलव ८० रोपनी जग्गा प्राप्त गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई स्वीकृत प्रदान गर्ने सरकारको निर्णय छ ।

जेठ ७ देखि १६ गतेसम्म स्वीट्जरल्याण्डको जेनेभामा आयोजित वल्र्ड हेल्थ सम्मेलनमा भाग लिन स्वास्थ्यमन्त्रीलाई स्वीकृति दिने निर्णय गरिएको मन्त्री शर्माले जानकारी दिइन्।

पत्रकारको प्रश्नमा मन्त्री शर्माले भनिन्, ‘नागरिकताको विषय सरकारको हतारको विषयभन्दा पनि आमनागरिक र जनताको विषय हो, आजसम्म नागरिकता नपाउँदा कयौँ समस्या पैदा भएको छ, मानिसको जीवनसँग जोडिएका विषयलाई सरकारले छिटोभन्दा छिटो टुङ्गाउने पक्षमा छ ।’ उनले प्रधानमन्त्रीको भारत भ्रमणलाई नागरिकता विधेयकसँग जोडेर नहेर्नसमेत आग्रह गरिन् ।

प्रतिक्रिया