शरणार्थी प्रकरण : प्रहरीले अनुसन्धान प्रतिवेदन आज पनि नबुझाउने

काठमाडौं । नेपाली नागरिकलाई शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौँ असुली गरेको गिरोहबारेको अनुसन्धान सकेर बुधवार रायसहितको प्रतिवेदन बुझाउन सरकारी वकिलले निर्देशन दिए पनि प्रहरीले प्रतिवेदन नबुझाउने भएको छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौंले अनुसन्धान नसकिएको भन्दै बुधवार प्रतिवेदन नबुझाउने निर्णय गरेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी सिताराम रिजालले बताए । उनले भने, अनुसन्धानका क्रममा गर्नुपर्ने कामहरू पूरा नभएकाले आज प्रतिवेदन नबुझाउने भएका हौँ, छिट्टै बुझाउने प्रयासमा छौँ ।
प्रहरीले यसमा संलग्नलाई अहिले ठगी र सङ्गठित अपराधसम्बन्धी कसुर मा म्याद थप गरेको छ । यसमा ६० दिनभित्र प्रहरीले अनुसन्धान सकेर जिल्ला सरकारी वकिलको कार्यालयमार्फत अदालतमा मुद्दा पेस गर्नुपर्छ । सरकारी वकिलले अध्ययनका लागि भन्दै एक साता अघि बुधवार प्रतिवेदन बुझाउन भनेको थियो ।
तर, अनुसन्धान नसकिएपछि प्रहरीले नबुझाउने भएको हो । फेरि म्याद थप गरेर अनुसन्धानको बाँकी काम पूरा गर्ने काठमाडौं प्रहरीको तयारी छ ।
प्रतिक्रिया