मृत्यु र जीवनको चक्र

सन् २०२३को फेब्रुअरी ६ मा टर्कीमा ठूलो भूक्म्प गयो । हजारौं मानिसहरूको ज्यान गयो । त्यसोत २०७२ सालमा गएको भूकम्पले नेपालमै पनि धेरै मानिसहरूको इहलिला समाप्त भएको थियो । यो पंतिकारको पनि सातदिनसम्म चउरमा त्रिपाल मुनीको बास भएको थियो । यसो सम्झिदा जिन्दगी नाफामा बाँचिएको रहेछ जस्तो लाग्छ । नाफामा बाँचेको जिन्दगीलाई सत्कर्ममा लगाउने प्रयास जारी छ ।
प्रसंग टर्कीमा गएको भूकम्पको थियो । विश्व संचार माध्यमले अत्यन्त कारूणिक समाचार संप्रेषण गर्ने क्रममा एउटा त्यस्तो तस्बिरमा आँखा पुग्यो जुन तस्बिरले मेरो ह्रदयमा कंपन ल्यायो । एउटी सानी नानीले आफ्नो भाइलाई काखमा राखेर बा आमाको मृत्युलाई ‘शोक’को ध्वनी सुनाउँदै थिई । बानी बिग्रेछ मृत्युको किन नावलाकहरूलाई टुहुरो बनाउन रूप फेरी फेरी आउॅंछ ? झुक्याउदो रहेछ मृत्युले । कहिले भुकम्पको नाममा, कहिले सुनामीको नाममा, कहिले भोकमरीको नाममा, कहिले कोभिडका नाममा के के हो के के ? जीवन त चर्खा रहेछ ।
मृत्युसँग पौंठाजोरी खेल्दै लड्दै उठ्दै गनतव्य तय गरिरहन्छ । जीवन सँगै मृत्यु पनि साथमा आउॅंछ र यो शाश्वत सत्य हो भन्ने कुराको वोध नहुँदा हामीले दुख झेलीरहेका छौं । रजनिशले भनेका छन् – जीवन त उत्सव हो । मृत्यु झन् महाउत्सव हो ।जीवनको रहस्य जीवन स्वयम होइन मृत्यु हो । जीवन मृ्त्यु तर्फको तीर्थयात्रा हो । ‘हाम्रो भौतिक शरीर र आत्मामा भिन्नता छ ।’ गीतामा भगवान् श्रीकृष्णले अर्जुनलाई भन्नुभएको छ – नैनं छिन्दन्ति शस्त्राणि नैनं दहति पावक:।न चैनं क्लेदयन्त्यापो न शोषयति मारूत:॥ अर्थात यो आत्मालाई न कहिल्यै कुनै हतियारले टुक्र्याऊन सकिन्छ न आगोले डढाउन सकिन्छ न पानीले भिजाउन सकिन्छ न हावाद्वारा नै सुकाउन सकिन्छ ।
यो शरीर ढले पनि आत्मा अजर छ अमर छ भन्छ गीता । यो आत्मा सधैं रहिरहन्छ ,सर्व व्यापक छ, अपरिवर्तनशील छ अचल छ । तर पनि हामी भौतिक शरीरकै पछि भागिरहेका छौं । हाम्रो चेतनाको बिर्को अझै खुल्न सकेको छैन । हामी मन्दिर, मस्जीद, गिर्जाघर जहाँ-जहाँ धाए पनि हामी मध्ये धेरैले आफू र आफ्नो परिवारको सुख संवृधीको मात्र कामना गरेर हात थाप्छौं । यो जगतको भलोहोस् सबैको कल्याणहोस् भन्ने कमै हुन्छौं । जबसम्म हामीमा ईर्श्याभाव रहिरहन्छ तबसम्म मृत्युले पनि खित्का छाडेर हाँसिरहन्छ । किनभने जीवन त कर्कलाको पानी हो एक छीन अघी छ निमेष भरमै छैन। हामी अजम्वरी छैनौं ।
जन्म सँग-सँगै मृत्यु आएको छ भन्ने जान्दा जान्दैपनि हामीले त्यसलाई नजर अन्दाज गरिरहेका छौं । हाम्रो व्यवहार कहिल्यै मर्न पर्दैन जस्तो किन गरीरहन्छौं ? बांचुन्जेल सर्वजन हिताय भन्ने भावनालाई मनन गरेर जीवनको रथ अगाडी बढाऊंदा उत्तम हुन्छ । सबैको कल्याणहोस् सबैको मंगलहोस् भन्ने भावना सबैमा जागृत हुन सके मात्र विश्वमा शान्ति फैलिने छ । मनमा शान्ति लिएर आफ्ना सवै कर्महरू गर्दै जानु नै श्रयस्कर हुन्छ । भगवान श्रीकृष्णले अर्जुनलाई सम्झाऊॅंदा यसो पनि भन्नु भएको छ -कर्म गर्दै जाउ फलको आशा नगर फल त तिमीलाई अवस्य प्राप्त हुनेछ ।’ मृत्यु त नियमितआकस्मितता हो । यसलाई न कसैले टारेर टार्न सक्छ न आयु लम्व्याउन सक्छ । जुनकुरो शास्श्वत सत्य छ मान्छे त्यसलाई स्विकार्न हिचकिचाऊॅंछ जुन दिन मृत्युले धावा बोल्छ त्यसपछी झसंग हुन्छ त्यतिवेला समय घर्की सकेको हुनेछ ।
किन सत्कर्मको बाटो रोजिएन ? किन लोभ र मोहमा मात्र लिप्त भईयो भनेर । वर्तमान टेक्नो युगमा त मान्छेले आफू अजम्वरी ठान्ने गर्छ । त्यसैले साना कुरामा पारिवारीक द्वन्द्व ,सामाजिक द्वन्द्व, राजनितीक द्वन्द्व तिव्र रूपमा हुने गरेको छ । हुने खाने र हुंदा खाने विचको खाडल ठूलो हुँदैगएकाले पनि पाईला पाईलामा द्वन्द्व छ । त्यही द्वन्द्वनै मृत्युको कारण वन्छ । तर अध्यात्मिक बाटोमा हिंडनेहरूमा संयमितता अली बढी हुन्छ उनीहरू भरिसक्य द्वन्द्व बाट टाढै रहन रूचाउछन् । द्वन्द्वलाई मृत्यको कारण वनाउन चाहनन् किनभने जीवन छ र मृत्य छ । जन्म मृत्यु प्रकृतिको नियमित साईकल हो । साईकल ढल्ला कि भनेर चिन्ता गर्ने होईन सके परोपकारमा मन लगाउने नसके कसैको पनि कुभलो नचिताउने ।
प्रतिक्रिया