शनिबार, जेठ ३२, २०८२

‘नीति तथा कार्यक्रमले जनतामा आशा जगाएको छ’

नेपालखोज २०८० जेठ ७ गते १५:४७

काठमाडौं । सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/८१ नीति तथा कार्यक्रममा समेटिएका विषयले जनतामा आशा जगाएको सत्तापक्षका सांसदहरुले बताएका छन् । साथै प्रतिपक्षी दलका सांसदले भने नीति तथा कार्यक्रममा नयाँ केही नभेटिएको टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा यही जेठ ५ सङ्घीय संसद्मा प्रस्तुत भएको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथि भइरहेको छलफलमा सांसदहरुले समर्थन र विरोधमा धारणा राखेका हुन् ।

सत्तारुढ नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) का सांसदले नीति तथा कार्यक्रमले सबै विषयलाई सन्तुलित ढङ्गले समेटेको बताइरहँदा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसदहरुले नीति तथा कार्यक्रममा नयाँ कुरा नभएको भन्दै परम्परागत ढङ्गका कार्यक्रम मात्रै राखिएको बताएका छन् ।

साथै उनीहरुले नीति तथा कार्यक्रममा समेटिएका विषयको प्रभावकारी कार्यान्वयन तथा छुटेका विषयलाई बजेटमा समावेश गर्न पनि सुझाव दिएका छन् । अर्थतन्त्रको संरचनागत सुधार, गुणस्तरीय पूर्वाधार, रोजगारी सिर्जना र उत्पादकत्व वृद्धि गर्नेजस्ता कार्यक्रम राम्रा भएको उनीहरुको भनाइ थियो ।

नेपाली कांग्रेसका सांसद जीतेन्द्रनारायण देवले आगामी आर्थिक वर्षका लागि सरकारले प्रस्तुत गरेको नीति र कार्यक्रम निकै मेहनतका साथ आएको भन्दै समर्थन जनाए । उनले आर्थिक समस्याको पहिचान र समस्या समाधानको पहल, कूटनीतिक सम्बन्ध सुधारका साथै सुशासन प्रवद्र्धन र भ्रष्टाचार नियन्त्रण गर्ने गरी नीति कार्यक्रममा राम्रा विषय समेटिएको उल्लेख गरे ।

प्रतिक्रिया