मंगलबार, वैशाख १८, २०८१

भिटामिन ‘ए’ पाइने यस्ता वस्तु अपहेलित ?

डा. अरुणा उप्रेती २०८० जेठ १० गते ७:१०

भिटामिन ए ख्वाउँदा कसैले पनि घरआगन मा पाइने हरियो वस्तुमा यो पाइन्छ भनेर छलफल किन नगरेको होला । नजिक को तिर्थ हेला भनेको यही हो ?

लट्टे

गाउँघरमा सजिलै उपलब्ध हुने लट्टेको साग पकाएर पाहुनालाई दिंदा धेरैले अपमानित भएको महसूस गर्छन् तर ठूला होटलमा त्यही लट्टे मनपराएर खानेहरू प्रशस्तै छन् । नेपालका अधिकांश भागमा पाइने लट्टेका विविध नाम छन् । तराई तथा भित्रीमधेशमा यसलाई ‘रामदाना’ भनिन्छ । पहाडी क्षेत्रमा ‘लट्टे’ वा ‘लुँडे’ र कर्णालीमा ‘मार्से’ । मधेशका धेरै ठाउँमा गेन्हारी साग पनि भन्छन् ।

लट्टेमा गहुँभन्दा बढी रेसादार र लौहतत्व पाइन्छ । साथै भिटामिन ई, भिटामिन सी, फोलिक एसिड र प्रोटिन, क्याल्सियम आदि यसमा छन् । कुपोषणबाट बचाउन प्रोटिनको ठूलो महत्व हुन्छ । साथै लट्टेका दाना ग्लुटिनरहित हुने भएकाले गहुँमा रहेको ग्लुटिन पचाउन नसक्नेहरूका लागि समेत यो उपयोगी हुन्छ ।

अर्थात् शिशु, महिला, गर्भवती सबैको लागि अति उपयोगी छ । लट्टेका दाना र पातको मुख्य विशेषता भनेकै यो जेसँग मिसाएर पकाउँदा पनि हुन्छ । यसको दाना चामल, फापर वा गहुँको पीठो आदिसँग मिसाएर उपयोग गर्न सकिन्छ । खाँदा स्वाद र पोषण दुवै हुने भएकाले यसले रोग प्रतिरोधात्मक क्षमता पनि वृद्धि गर्छ ।

करी पत्ता

तराईमा जताततै पाइने करी पत्ताबारे धेरैलाई खासै जानकारी रहेको देखिंदैन। करी पत्ता पोषणको भण्डार नै हो । यसको पात रेसादार हुन्छ । यसमा पर्याप्त मात्रामा लौहतत्व र भिटामिन ‘ए’ हुन्छ । क्याल्सियम, फस्फोरस र फोलिक एसिड हुन्छ ।गर्भवती र सुत्केरीलाई दिनु लाभदायक मानिन्छ । स्वास्थ्य विज्ञका अनुसार यसमा पाइने फोलिक एसिडले भ्रूणलाई स्वस्थ रहन सहयोग गर्छ । मेरुदण्ड राम्ररी विकसित नहुने समस्याबाट पनि जोगाउँछ ।

यसमा रहेको भिटामिन ‘ए’ ले रतन्धो हटाउन मद्दत गर्छ तर दुःखको कुरो के भने नेपालमा यसबारे धेरैले थाहा नै पाएका छैनन् । करी पत्ताका बारेमा केही अनुसन्धान पनि भएका छन् । मधुमेह भएकाहरूलाई पनि यसले फाइदा गर्छ किनभने यसले शरीरभित्र रहेको हर्मोन ‘इन्सुलिन’ को गतिविधिलाई प्रभावित गरेर रगतमा ग्लुकोजको मात्रा सन्तुलनमा राख्न मद्दत गर्छ । अपच हुने मानिसहरूलाई पनि खान दिइन्छ किनभने यसले मिर्गौलालाई तन्दुरुस्त बनाउन सघाउँछ।

काठमाडौंको दक्षिणी भेगतिर यसलाई ‘पैनामती’ र ‘असारे’ पनि भनिंदोरहेछ । असारमा पाकेपछि यसको दाना पनि खाँदा रहेछन् । यसलाई पानीमा उमालेर थोरै कागतीको रस र बिरेनून हालेपछि स्वादिष्ट पेय बन्छ । यस्तो पेयले पेटमा रहेको गडबडीलाई सञ्चो गर्ने परम्परागत मान्यता छ । यसमा रहेको भिटामिन ‘ए’ ले रतन्धो हटाउन मद्दत गर्छ तर दुःखको कुरो के भने नेपालमा यसबारे धेरैले थाहा नै पाएका छैनन् ।

झुसे ‘सिस्नो’

सिस्नोमा भिटामिन ए, सी, के र बी पाइन्छ

भिटामिन ए पाइने कुरा किन छलफल नभाको होला ?

खाद्य सुरक्षाविद्हरूले सिस्नो लाभदायक वनस्पतिका रूपमा लिन्छन् । प्राचीनकालदेखि नै औषधीय गुणयुक्त वनस्पतिका रूपमा चिनिए पनि धेरैले यसबारे अझै थाहा पाएका छैनन् । धेरैले सिस्नो खानेभन्दा सजाय दिने वनस्पति भन्ने सोच्छन् । नेपालमा सिस्नोलाई गरीबीको अर्को नाम पनि भनिन्छ तर सिस्नो खान हुने एउटा उत्तम वनस्पति हो ।

प्रतिक्रिया