आइतबार, जेठ ५, २०८२

बंगलादेशमा चरम ऊर्जा संकट

नेपालखोज २०८० जेठ २७ गते १६:३३

दक्षिण एसियाली मुलुक बंगलादेश अहिले सबैभन्दा चर्को विद्युत् संकटबाट गुज्रिरहेको छ । बंगलादेशको विदेशी मुद्रा सञ्चिति घट्दै गएको र यसको मुद्राको मूल्य पनि घट्दै गएकाले देशलाई तेल आयातको भुक्तानी गर्न समस्या भैरहेको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार बंगलादेशले इन्धन आयातका लागि भुक्तान गर्न कठिनाइ र विदेशी मुद्रा सञ्चिति घट्ने जस्ता गम्भीर समस्याका कारण सन् २०१३ पछिको सबैभन्दा खराब ऊर्जा संकट सामना गरिरहेको छ। जुलाई –अक्टोबरमा मौसम तातो रहने र देशमा विद्युत् खपत अझ बढ्ने अनुमान गरिएको छ ।

१७ करोड जनसंख्या भएको यो देशमा आगामी दिनमा विद्युत् कटौती जारी रहने ऊर्जामन्त्रीले हालै चेतावनी दिएका थिए ।
बंगलादेश इन्धन आयातमा निर्भर छ र इन्धन अभावका कारण लोडसेडिङले देशको कपडा उद्योगलाई नराम्रो असर पारेको छ।

वालमार्ट , एच एन्ड एम , जारा जस्ता ग्लोबल ब्रान्डहरू २०२३ को पहिलो पाँच महिनामा विद्युत कटौतीका कारण बंगलादेशमा ११४ दिनका लागि आफ्नो उद्योगमा उत्पादन बन्द गर्न बाध्य भएका थिए भने २०२२ मा कुल ११३ दिन कपडा उद्योग ठप्प थिए ।

बंगलादेशमा अहिले साँझ र बिहान सबेरै विद्युत् कटौती हुने गरेको छ। बंगलादेशको पावर ग्रिड कम्पनीको तथ्यांकले सार्वजनिक र साना व्यवसायीले १० देखि १२ घण्टासम्म अघोषित विद्युत कटौती गरेको गुनासो गरेको देखाउँछ। त्यहाँ मागको तुलनामा आपूर्ति २५ प्रतिशतले कम रहेको तथ्यांकले देखाएको छ । तथ्यांकको विश्लेषणले समग्र आपूर्ति घाटा औसत १५ प्रतिशतले बढेको देखाएको छ । यो मे महिनाको घाटाको औसत तीन गुणा हो । – र‍ोयटर्स

प्रतिक्रिया