आइतबार, जेठ ५, २०८२

विश्वभर झुग्गी – झोपडि बस्तीको जनसङ्ख्या तीव्र रूपमा बढदैछ

नेपालखोज २०८० जेठ २८ गते ८:३८

एजेन्सी । किबेरा, नैरोबीमा बस्ने बीट्रिस ओरियो बच्चाहरूलाई खेल्न उनको घर नजिकै पार्क छ कि भनेर सोध्दा ठूलो स्वरले हाँसिन् ।

किबेरा नैरोबीको सबैभन्दा ठूलो झुग्गी – झोपडि हो । ३४ वर्षीया ओरियो भन्छिन्, ‘त्यस्तो केही छैन ।’ ओरियो फलामको पाताले बनेको कोठामा बस्छिन् जसको भाडा ६ हजार शिलिंग अर्थात करिब पाँच हजार रुपैयाँ छ ।

ओरियो भन्छिन्, ‘हामीसँग आफ्नै शौचालय पनि छैन । हामी सार्वजनिक शौचालयमा जाँदा हरेक पटक पैसा तिर्नुपर्छ । हामी नुहाउने ठाउँ पनि हाम्रो भान्छाघर, बैठक कोठा वा सुत्ने कोठा हो । पार्कको कुरा नगरौं , यो त हाम्रा लागि मजाक हो ।’ संसारमा एक अरब भन्दा बढी मानिस छन् जो ओरियो जस्तै परिस्थितिमा बाँचिरहेका छन् ।

शहरी विकासका लागि काम गर्ने संयुक्त राष्ट्रसंघीय निकाय युएन ह्याबिट्याटका अनुसार यी एक अर्ब मानिस किबेराजस्ता अत्याधिक भीडभाड भएको बस्तीमा बस्छन्, जहाँ आधारभूत सुविधासमेत उपलब्ध छैनन् ।

जसरी विश्वको जनसंख्या र सहरीकरण बढ्दै गएको छ, त्यसैगरी यस्ता बस्तीमा बस्ने मानिसको संख्या सन् २०५० सम्ममा तीन अर्ब पुग्ने छ । युएन ह्याबिट्याटले बृद्धिको ५० प्रतिशत बस्ती आठ देशमा मात्र हुने अनुमान गरेको छ ।

ती आठ देशह हुन् स् नाइजेरिया, फिलिपिन्स, इथियोपिया, तान्जानिया, भारत, डीआर कंगो, इजिप्ट तथा पाकिस्तान । युएन ह्याबिट्याटकी कार्यकारी निर्देशक मैमुना मोहम्मद शरीफ भन्छिन्, ‘यो हाम्रा सहरहरूको भविष्य हो ।’ विश्वको आधाभन्दा बढी जनसंख्या सहर वा सहरोन्मुख बस्तिहरूमा बस्छन् ।

२०५० सम्म यो जनसंख्या ७० प्रतिशतले बढ्नेछ । त्यसैले सहरी गरिबी र असमानतालाई सम्बोधन गर्न पहिलेको तुलनामा धेरै गाह्रो हुनेछ ।

विश्व बैंकका अनुसार केन्याको आधाभन्दा बढी सहरी जनसंख्या किबेरा जस्ता योजनाविहीन बस्तीमा बस्छन् । कच्चा सडकको छेउमा बनेका झ्याल नभएका साना कोठामा साढे दुई लाखभन्दा बढी मानिसको बास छ । अधिकांश मानिसहरू गाउँबाट विस्थापित भएर सहर आएर दैनिक २ डलर अर्थात् १५० रुपैयाँभन्दा कम कमाउनेहरू छन् ।

यहाँका अधिकांश मानिसहरू मोटरसाइकल ट्याक्सी चालक, सुरक्षा गार्ड, घरेलु कामदार वा भवनहरूमा मजदुरका रूपमा काम गर्छन्। उनीहरू नैरोबीमा राम्रो घरमा बस्न सक्दैनन् । यी बस्तीहरूका शौचालय सार्वजनिक छन्, जुन वर्षाको समयमा प्रायः पानीले भरिन्छ । खानेपानीका लागि पानीको सुविधा नभएकाले यहाँका मानिसहरु निजी ट्याङ्करबाट पानी किन्न बाध्य छन् ।

फोहोर पानीको निकासको व्यवस्था अत्यन्तै कमजोर छ र फोहोर सफा गर्ने व्यवस्था छैन । बाढी बारम्बार आउँछ र घर तथा त्यहाँका सामानहरू नष्ट गर्दछ । पिउने पानी पनि दूषित हुन्छ ।

यस क्रममा घर भत्किने वा बिजुलीको पोलमा करेन्ट लागेर मानिसको ज्यान जाने गरेको छ । गरिबी र युवा(बेरोजगारी दर उच्च छ भने यी बस्तीहरू अपराधीहरूका लागि नर्सरी क्लास जस्तै छन् । यहाँ चोरी, लुटपाट तथा महिला हिंसा सामान्य छ ।

यी बस्तीमा बस्ने मानिसहरू सधैं घरबारविहीन हुने जोखिममा छन् । यहाँ बुलडोजरको आगमन र बस्तीहरू समतल हुनु सामान्य घटना हो । यहाँ बस्न सजिलो छैन, ४१ वर्षीय मर्सी इकिङ्ग भन्छिन् ।

इकिङ्ग श्रीमान् बिना नै आफ्ना सन्तान हुर्काउँदै छिन् । उनि लुगा धुने कामबाट पाँच सय शिलिंग अर्थात् हप्तामा करिब तीन सय रुपैयाँ कमाउँछन्। इकिङ्ग भन्छिन्, समाज राम्रो छ र हामी सबैले एकअर्कालाई सहयोग गर्छौं तर यहाँ गोपनीयता छैन, सुरक्षा छैन। घरधनीले हामीलाई जुनसुकै बेला बाहिर निकाल्न सक्छन वा बुलडोजर आउँन सक्छ ।

स्लम डिवेलर्स इन्टरनेशनल १८ देशका सहरी गरिबहरूको संस्था हो। यो संस्थाका अध्यक्ष जोसेफ मुतुरी सरकारले नयाँ घर बनाउनुभन्दा बस्ती सुधारमा ध्यान दिनुपर्ने बताउँछन् ।

मुतुरीका अनुसार विगतमा पनि घरपरिवारलाई बस्तीबाट विस्थापित गरी सहरबाहिर बनेका साना घरमा बस्न पठाइँदा रोजगारी वा अन्य सुविधा नभएका कारण यस्ता योजनाहरु असफल भए भने मानीसहरू शहरको बीचमा बनेका बस्तीहरूमा फर्किए ।

थमसन रोयटर्स फाउन्डेशन

प्रतिक्रिया