बुधबार, असार ४, २०८२

‘नेपाली पक्षले उठाएका विषयलाई चीनले गम्भीरतापूर्वक लिने र कार्यान्वयन गर्दै जाने छ’

नेपालखोज २०८० जेठ ३० गते ८:०२

काठमाडाैं । चीनको औपचारिक भ्रमणमा रहेका राष्ट्रिय सभाका गणेशप्रसाद तिमिल्सिना र चीनका राष्ट्रिय जनकंग्रेसको स्थायी समितिका अध्यक्ष चाओ लिजीबीच भेटवार्ता भएको छ । अध्यक्ष तिमिल्सिना र जनकंग्रेसको स्थायी समितिका अध्यक्ष लिजीबिच ग्रेट हल अफ पिपुल्स बेइजिङमा हिजाे साँझ भेटवार्ता भएको हो ।

भेटमा अध्यक्ष तिमिल्सिनाले नेपाल चीनबीच केरुङ/रसुवागढी, हिल्सा/पुराङ र तातोपानी/झाङमु नाकाहरू मार्फत दुईतर्फी व्यापार सुरु भएको उल्लेख गर्दै आगामी दिनमा मुस्ताङको कोरल्ला लगायतका नाकाहरू सञ्चालन हुने विश्वास पनि व्यक्त गरे । नेपालबाट तरकारी, मासुजन्य उत्पादन, चिया र जडीबुटी जस्ता उत्पादनहरूलाई चीनको भन्सारको सामान्य प्रशासनमा सूचीकृत गर्न सहयोगको लागि अनुरोध पनि गरे ।

चीनको राष्ट्रिय जन-कंग्रेस स्थायी समितिका अध्यक्ष चाओ लिजीले भ्रमणका क्रममा नेपाली पक्षले उठाएका विषयलाई चीनले गम्भीरतापूर्वक लिने र कार्यान्वयन गर्दै जाने आश्वासन दिए । उनले चीनको छेन्दुबाट पोखरा उडानका लागि चीन तयारी अवस्थामा रहेको जानकारी दिएका थिए ।

‘पोखरा विमानस्थलको अवस्था र नेपाल सरकारले आवश्यक सबै तयारी सकेको अवस्थामा आगामी जुन २१ देखि छेन्दु पोखरा सिधा उडान गर्न चीन तयारी अवस्थामा छ’ उनले भने । अध्यक्ष तिमिल्सिना ९ सदस्यी नेपाली संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गरेर चीन भ्रमणमा रहेका छन् ।

प्रतिक्रिया