बुधबार, असार ४, २०८२

प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको नाम सर्वसम्मतले अनुमोदन

नेपालखोज २०८० असार १ गते ११:५७

काठमाडौं । प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको नाम संसदीय सुनुवाइ समितिबाट सर्वसम्मतीले अनुमोदन भएको छ।

सभापति पशुपति शमशेर जबराका अनुसार कार्कीलाई संसदीय सुनुवाइ समितिले सर्वसम्मत रुपमा प्रधानन्यायाधीशमा अनुमोदन गरेको हो ।

समितिको शुक्रबार (आज) बसेको बैठकपछि सभापति जबराले संवैधानिक परिषदबाट प्रधानन्यायाधीशमा सिफारिस हरिकृष्ण कार्कीको नाम सर्वसम्मतीले स्वीकृत गरिएको बताए ।

संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीशको नाम अनुमोदन गरेपछि अब राष्ट्रपतिले प्रधानन्यायाधीशलाई नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

कार्कीविरुद्ध परेका उजुरी र उनले पेस गरेको कार्ययोजनाका विषयमा समितिले बिहीबार र शुक्रबार दुई दिन कार्कीसँग सवाल जवाफ गरेको थियो ।

उनले हिजो बसेको संसदीय सुनुवाइ समितिको बैठकमा आफ्ना अनुभव सुनाउनुका साथै आफ्नो कार्ययोजना पेस गरेका थिए ।

गत वैशाख २५ गते बसेको संवैधानिक परिषदको बैठकले सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश कार्कीलाई प्रधानन्यायाधीशमा प्रस्ताव गरेको थियो ।

तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले निलम्बनकै अवस्थामा गत मंसिरमा अवकाश पाएपछि हाल कार्की नै कामु प्रधानन्यायाधीश छन् ।

प्रतिक्रिया