बुधबार, असार ४, २०८२

गठबन्धनले जनता अलमल्याउने काम मात्र गर्दै छ : ओली

नेपालखोज २०८० असार २ गते १५:४२

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले राम्रो काम गर्ने भन्दा पनि एमालेको विरोधमा समय खर्चिरहेको आरोप लगाएका छन् ।

शनिबार पार्टी कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले विरोध गरेर कुनै प्रतिफल हात नलाग्ने बताए ।

‘गठबन्धन राम्रो काम गर्ने होइन एमालेको विरोध गर्नेतर्फ केन्द्रित भएको छ,त्यसमा पनि अझ बढी एमालेका अध्यक्षको विरोध गर्ने काममा लागेको छ । एमालेलाई जनताबाट कसरी अलग गर्न सकिन्छ भनेर भ्रम छर्न व्यस्त छ’, ओलीले भने, ‘यस्तोमा लागेर प्रतिफल कहाँ आउँछ र ?’

गठबन्धनले गरेको राजनीति वास्तविक राजनीति नभइ जनता अल्मल्याउने र राजनीतिप्रति जनतामा वितृष्ण जगाउने काम मात्रै भएको ओलीको टिप्पणी छ ।

एमाले राणा शासनको चाकडीबाट आएको पार्टी नभइ कामको मुल्यांकनका आधारबाट आएको पार्टी भएको भन्दै ओलीले क्षमताका आधारमा नेता कार्यकर्तालाई जिम्मेवारी तोकिने बताए ।

गठबन्धनभित्र समाजवादी मोर्चा गठनको चर्चा चलिरहँदा ओलीले यसको औचित्यमाथि प्रश्न उठाए ।

सत्ता गठबन्धनभित्रका नेकपा माओवादी केन्द्र, जसपा, नेकपा एकीकृत समाजवादी ,बाहिरका बाबुराम भट्टराई नेपाल समाजवादी पार्टी र नेत्रविक्रम चन्द विप्लवसहित समाजवादी मोर्चा बनाउने चर्चा भइरहेको छ ।

एमालेसँग मुकाबिला गर्न र कांग्रेसलाई तर्साउन समाजवादी मोर्चाको कुरा ल्याइएको उनको तर्क छ ।

‘समजावदी मोर्चा बनाउने किन ? त्यो बनाएर हुन्छ के ? चिनेकै मान्छे हुन् । सँगै हिँडिरहेकै छन् ।’ ओलीले भने, ‘मोर्चा भने पनि नभने पनि लिभिङ टुगेदर चलेकै छ, अनि के मोर्चा के नमोर्चा १’

प्रतिक्रिया