हेलम्बुले काठमाडौंबासीलाई लगाएको गुन तिर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

अम्बाथान । विसं २०७८ असार १ गते भीषण बाढी नआएको भए राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानी आयोजनाको दोस्रो चरणको काम यतिबेला धमाधम चलिरहेको हुन्थ्यो । याङ्ग्री र लार्के खोलाको थप पानी ल्याउने र राजधानी काठमाडौँको तिर्खा मेट्ने योजनाले नयाँ गति लिएको हुन्थ्यो ।
तर, प्राकृतिक विपत्तिका अगाडि केही लागेन । निर्माण सम्पन्न भइसकेको आयोजना पर धकेलियो । जसले बर्षाको समयमा पानी बन्द गर्नुपर्ने अवस्था आइलाग्यो । फलस्वरुप गत वर्ष जस्तै यसवर्ष पनि बर्खामा पानी पठाउने कि नपठाउने भन्नेमा मेलम्ची खानेपानी विकास समितिले अझै निर्णय लिन सकेको छैन । मनसुन भर्खर शुरु भएकाले आगामी दिन कस्तो रहला भन्ने अहिल्यै अनुमान गर्न गाह्रो छ । सोही आयोजनाको समग्र अवस्थाको बारेमा जानकारी लिन र आगामी योजनाको बारेमा उपयुक्त निर्णय लिनुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितको उच्चस्तरीय टोली आज आयोजना स्थलमै पुग्यो ।
टोलीमा खानेपानी मन्त्री महेन्द्रराय यादव, स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत, बाग्मती प्रदेशसभा सदस्यद्वय युवराज दुलाल र सरल सहयात्री पौडेललगायत थिए । सो अवसरमा प्रधानमन्त्री प्रचण्डले आयोजनाको समग्र पक्षका बारेमा जानकारी मात्रै लिनुभएन, स्थानीयसँग यसलाई दिगो बनाउने र आयोजनाको दोस्रो खण्डलाई छिट्टै कार्यान्वयनमा ल्याउने बाचा पनि गरे ।
काठमाडौंलाई पानी पठाएर हेलम्बुले लगाएको गुन तिर्न प्रधानमन्त्रीले स्थानीयले राखेका माग सम्बोधन गर्ने प्रतिबद्धता जनाए । आयोजना सञ्चालन गरिरहेको मेलम्ची खानेपानी विकास समिति केही समय अन्यौलमा पर्दा परेको उल्झनका साथ साथै पानी पठाउने स्थललाई दिगो र भरपर्दो बनाउने विषयमा पनि प्रधानमन्त्रीले चासोपूर्वक पदाधिकारीको धारणा सुने । सरकारले अगाडि बढाएका राष्ट्रिय गौरवका हरेक आयोजनामा पुगेर तत्काल नै समस्या समाधान गर्ने बताउँदै आएका प्रधानमन्त्री प्रचण्ड नै मेलम्ची पुग्दा मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक कमलराज श्रेष्ठलाई पनि थप बल मिलेको बताए ।
आयोजना स्थलका साथै इन्द्रावती नदीको तल्लो र माथिल्लो तटीय क्षेत्रमा नै बाढीले थुपारेको ढुङ्गा, बालुवा र गेग्रयानको व्यवस्थापन उत्तिकै चुनौतीपूर्ण छ । आयोजना स्थल पुग्ने सडकको अवस्था पनि दुरुहपूर्ण छ । पुनःनिर्माणको काम जारी रहेपनि अपेक्षित गतिमा छैन । प्रधानमन्त्रीले स्थानीयको माग सम्बोधन गर्न पनि कुनै कसर बाँकी नराख्ने विश्वास दिलाए । आयोजनास्थल प्रधानमन्त्री आउँदै गरेको थाहा पाएर हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन ह्याल्मोलगायतका पदाधिकारी पनि आफ्ना समस्या सुनाउन उपस्थित थिए ।
मेलम्ची खानेपानी आयोजनाको सुरुङको ७५ प्रतिशत भाग सोही गाउँपालिकाभित्र पर्छ । दोस्रो चरणको याङ्ग्री र लार्के आयोजनाको सुरुङको ५० प्रतिशत भाग पनि सोही गाउँपालिकामा पर्नेछ । कहिल्यै बिर्सदैनन् मेलम्चीबासीले त्यो असार विसं २०७८ असार १ र सोही वर्षको साउन १६ र १७ गते मेलम्ची खोलामा आएको भीषण बाढीका कारण सो गाउँपालिकामा पर्ने मेलम्ची खोनेपानीको मुहान क्षतिग्रस्त भयो ।
खोला आसपासमा अधिकाशं बस्तीहरु तिम्बु, हल्दे, चिउरीखर्क, किउल बगर, गणेशे, चनौटे, ग्याल्थुम, पाल्चोक बेसीलगायतका तीन सय नौवटा निजी आवास तथा घर पूर्णरुपमा क्षतिग्रस्त भए । व्यावसायिक रुपमा रहेका १० वटा ट्राउट माछा फार्म, एक हजार आठ सय ७३ रोपनी खेतीयोग्य जमिन बगरमा परिणत भयो । कूल छ वटा मोटरेबल पुल, सात वटा झोलुङ्गे पुल पूर्णरुपमा क्षतिग्रस्त भए ।
आयोजानमा कार्यरत तीन चिनियाँ, तीन भारतीय गरी २४ जनालाई बाढीले बगायो । त्यसमध्ये १५ नेपाली र पाँच विदेशी अझै बेपत्ता छन् । बाढी आएको दुई वर्ष पूरा हुँदा समेत बाढी पीडितको समस्या समाधान नभएकामा स्थानीय चिन्तित र आक्रोशित छन् । ती सबै विषयमा प्रधानमन्त्री प्रचण्डले गम्भीरतापूर्वक सुन्दै समस्या समाधानका लागि सरकारले ठोस पहल गर्ने बताए ।
दोस्रो खण्डको काम तदारुकताका साथ अगाडि बढाइन्छः प्रधानमन्त्री प्रधानमन्त्री प्रचण्डले मेलम्ची खानेपानी आयोजना अन्तर्गतको दोस्रो खण्ड याङ्ग्री र लार्केको काम तत्कालै अगाडि बढाइने बताए । उनले दुई वर्ष पहिले असार १ गतेका दिन आयोजनाले समयमै पानी बन्द नगरेको भए सुरुङमा गेग्रयान भरिएर परियोजना नै असफल हुनसक्ने खतरा टरेको स्मरण गरे । प्रधानमन्त्रीले विपत्तिको जोखिम कायमै भएकाले अर्को विकल्पको खोजी गर्नुपर्ने र त्यसको आवश्यक तयारी गर्नुपर्ने बताए ।
सो अवसरमा प्रधानमन्त्री प्रचण्डले कठिन अवस्थामा पनि काठमाडौंमा पानी पठाउन मेहनत गरेका आयोजनाका इन्जिनियर र प्राविधिकलाई धन्यवाद दिए । उनले आयोजनाको आकस्मिक कामका लागि छुट्टै बजेटको प्रबन्ध गरिने समेत जानकारी दिए । उनले सो परियोजना समपन्न गर्नुका साथै आकस्मिक घटनालाई रोकथाम गर्ने विषयमा आफ्नोतर्फबाट पूर्ण सहयोग हुने विश्वास दिलाए ।
प्रतिक्रिया