बिहीबार, असार ५, २०८२

जलवायु परिवर्तन : बढ्दो तापक्रमका कारण समुद्रमा अक्सिजन घट्दै

नेपालखोज २०८० असार ११ गते ६:५४

काठमाडाैं । जलवायु परिवर्तन र पोषक तत्वको प्रदूषणका कारण समुद्रमा अक्सिजन घट्दै गएको छ । जसका कारण धेरै प्रजातिका माछा खतरामा परेका छन् ।

प्रकृतिका लागि काम गर्ने समूह आईयूसीएनले गरेको अध्ययनबाट यो कुरा पत्ता लागेको हो । अन्वेषकहरू भन्छन् – दशकौंदेखि समुद्रमा पोषक तत्वहरू घट्दै गएका छन भने अहिले जलवायु परिवर्तनका कारण अवस्था थप बिग्रँदै गएको छ।

सन् १९६० को दशकमा समुन्द्रमा अक्सिजन कम भएका ४५ ठाउँ थिए तर अहिले यसको संख्या बढेर ७०० पुगेको अध्ययनले देखाएको छ । अक्सिजनको कमीले टुना, मार्लिन र शार्कलगायत धेरै प्रजातिलाई खतरामा पारेको अनुसन्धानकर्ताहरूले बताएका छन् ।

खेत र कारखानाबाट नाइट्रोजन र फस्फोरस जस्ता रसायनहरू निस्कने भएकाले त्यसले महासागरहरूलाई खतरामा पार्छ र समुद्रमा अक्सिजनको स्तरलाई असर गर्छ भन्ने विश्वास गरिन्छ ।

पछिल्ला वर्षहरूमा जलवायु परिवर्तनको खतरा बढेको छ । जब कार्बनडाइअक्साइड अत्यधिक मात्रामा निस्किएका कारण तापक्रम बढ्छ तब अधिकांश गर्मी समुद्रले सोस्छ । जसका कारण पानी तातो हुन्छ र अक्सिजन कम हुन थाल्छ ।

वैज्ञानिकहरुको अनुमान अनुसार सन् १९६० देखि २०१० सम्ममा महासागरमा अक्सिजनको मात्रा दुई प्रतिशतले घटेको छ । यो अक्सिजन घट्ने विश्वव्यापी औसत हो र यो धेरै नदेखिए पनि कतिपय ठाउँमा अक्सिजनको मात्रा ४० प्रतिशतसम्म घट्ने सम्भावना छ ।

अक्सिजनको मात्रामा थोरै कमीले पनि समुद्री जीवनमा ठूलो प्रभाव पार्न सक्छ। पानीमा अक्सिजनको कमी जेलीफिस जस्ता प्रजातिका लागि उपयुक्त हुन्छ तर टुना जस्ता ठूला र छिटो पौडीने प्रजातिका लागि यो अवस्था राम्रो होइन।

प्रतिक्रिया