मंगलबार, वैशाख ३०, २०८२

लकडाउन अन्त्य भएको छैन खुकुलो मात्रै पारिएको हो : प्रधानमन्त्री ओली

नेपालखोज २०७७ असार १ गते २०:०१

मीना साउँद,
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा कोरोना भाइरसको महामारी नरोकिएको बरु अझै फैलिदै गएको बताउँदै लकडाउन अन्त्य नभएको तर केहि खुकुलो मात्रै पारिएको बताएका छन् ।

नेपालमासमेत कोरोना महामारीले विकराल रुप लिइरहेको अवस्थामा विद्यालय संचालन गर्दा थप जोखिम हुने भन्दै विद्यार्थीको सिकाइमा क्षति हुन नदिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आजदेखि सुरु गरेको वैकल्पिक सिकाइ प्रक्रियाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनका कारण विद्यार्थीहरुको पाठनपाठन प्रभावित भएको छ ।

मन्त्रालयले घरलाई नै शिक्षालयको रुपमा विकास गर्ने उद्देश्यले टेलिभिजन, रेडियो, अनलाइन तथा डिजिटल प्रविधिको प्रयोग गरी आजदेखि पठन–पाठन सुरु गरेको छ । देशभरका ३ हजार २ सय बढी विद्यालयहरु क्वारेनटाइनका रुपमा प्रयोग भइरहेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।

सरकारले तोकेका सबै नियमहरु पालना नगर्ने, सामाजिक दूरी कायम नगर्ने, आवश्यक सुरक्षा सतर्कता नअपनाउने, आफूखुसी चल्ने गरेमा आफ्ना कारण आफू मात्रै नभइ सिंगो समुदाय नै जोखिममा पर्न सक्ने सक्दै प्रधानमन्त्री ओलीले प्रत्येक कदम सर्तकताका साथ चाल्न आग्रह गरेँ ।

बाँकी दुनियाँ अन्धकारमा हुँदा, ज्ञानको ज्योति नहुँदा हाम्रा पुर्खाहरुले ज्ञान र विज्ञानको क्षेत्रमा चमत्कार गरेको उनले स्मरण गराए । हाम्रो बौद्धिक सम्पत्तीका आविष्कारक तथा पूर्खाहरुलाई हामीले सम्झिनु पर्ने प्रधानमन्त्री ओलीले बताएका छन् ।

मुलुकको विकास समान स्तरमा नरहेको र प्रविधिको पहुँच सबै ठाउँमा एकैनासको नभएका कारण आफुले मुलुकको अवस्थालाईसमेत बुझेको बताउँदै उनले बैकल्पिक प्रणाली सिकाइ सहजिकरणका लागि निर्देशिका जारी गर्दा स्थानिय तह तथा विद्यालयको स्रोत साधनमा रहेको पहँुचलाई ध्यानमा राखिएको बताए ।

कोरोना महामारीको समाप्तीसंगै शैक्षिक प्रणालीमा पनि नयाँ परिमार्जत हुने सम्भावना रहेको बताउँदै उनले अशिक्षित जनशक्ति आजका लागि अयोग्य र अप्रभावकारी जनशक्ति रहेकाले अबको जनशक्ति शिक्षित, सक्षम र स्वस्थ जनशक्ति हुने बताए ।

विद्यालयहरु पुनः संचालनमा नआएसम्मका लागि आजबाट सुरु भएको बैकल्पिक सिकाइ प्रणालीले विद्यालय तहका विद्यार्थीहरुको सिकाइ क्षमतामा महत्वपूर्ण योगदान पु¥याउने विश्वास लिइएको छ । तर विद्यार्थीको सिकाइमा क्षति हुन नदिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आजदेखि सुरु गरेको वैकल्पिक सिकाइ प्रक्रिया प्रभावकारी हुन्छ या हुँदैन भन्नेमा आम नागरिकको चासो छ ।

प्रतिक्रिया