शुक्रबार, असार ६, २०८२

‘ट्रापिक व्यवस्थापनका लागि जनचेतनामूलक कार्यक्रम आवश्यक’

नेपालखोज २०८० असार १९ गते १८:५७

विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्नका लागि प्रभावकारी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताएका छन् ।

आजदेखि कोशी प्रदेशमा सुरु भएको ट्राफिक सप्ताह २०८० को उद्घाटन कार्यक्रममा उनले बर्सेनि हुने सडक दुर्घटनाका कारण मुलुकले ठूलो मानवीय र भौतिक क्षति व्यहोर्नुपरेको दृष्टान्त प्रस्तुत गरे ।

मुख्यमन्त्री कार्कीले सडक दुर्घटना न्यूनीकरण गर्न आवश्यक पर्ने सबै खालको व्यवस्थापकीय कार्यका लागि सहकार्य गर्न प्रदेश सरकार तयार रहेको भन्दै सङ्घीय कानुनको अभावमा प्रदेश सरकार आफैँले गर्नुपर्ने कतिपय कार्य पनि गर्न नसकेको जानकारी दिए ।

मुख्यमन्त्री कार्की आजै आरआरएन नामक एक गैरसरकारी संस्थाबाट सञ्चालित जलवायुजन्य विपद् जोखिमप्रति समुदायको उत्थानसील सुदृढीकरण परियोजनाको उद्घाटन गर्दै कोशी प्रदेशमा ३८ भन्दा बढी किसिमका प्रकोपको जोखिम रहेको अवगत गराए ।

जलवायुजन्य विपद्अन्तर्गत बाढी र पहिरोको जोखिम बढीरहेको बताउँदै पछिल्लो अवस्थामा जङ्गली जनवारको आक्रमणको जोखिम पनि बढ्दो क्रममा रहेको स्पष्ट पारे । उनले विपद् जोखिम न्यूनीकरणका लागि सरोकारवाला निकायले पूर्वतयारीमा बढी जोड दिनुपर्ने सुझाव दिए ।

प्रतिक्रिया