सुदूरपश्चिम प्रदेशसभाबाट शोकप्रस्ताव पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकले प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा परी निधन भएको घटनाप्रति शोकप्रस्ताव पारित गरेको छ । बैठकमा स्व. सिंहको आत्माको चिरशान्तिको कामनाका लागि मौनधारण पनि गरिएको थियो ।
सरकारी कामको सिलसिलामा बझाङ जाने क्रममा यही असार ५ गते बझाङकै केदारस्यु गाउँपालिकाको सडक खण्डमा भएको गाडी दुर्घटनामा परी मन्त्री सिंहको निधन भएको थियो । दुर्घटनामा परी उनकी श्रीमती अमृता सिंह र भाउजू जयादेवी सिंहको पनि निधन भएको थियो । यही असार १ गतेपछि आज प्रदेशसभाको बैठक बसे पनि अर्को बैठक कहिले बस्ने भन्ने टुङ्गो लाग्न सकेको छैन ।
आजको बैठकमा सभामुख भीमबहादुर भण्डारीले सूचना प्रकाशित नभएसम्मका लागि बैठक स्थगित गरिएको सदनलाई जानकारी गराए । बैठक बस्ने टुङ्गो नलाग्दा प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को लागि प्रस्तुत गरेको बजेट कार्यक्रममाथि छलफल सुरु हुन सकेको छैन । प्रस्तुत बजेट कार्यक्रमप्रति प्रदेशसभामा सत्तापक्षकै सदस्यमा असन्तुष्टि बढेका कारण छलफल सुरु गर्न ढिलाइ भएको जनाइएको छ ।
सत्तापक्ष नेपाली कांग्रेसका प्रदेशसभा सदस्य देवानसिंह विष्टले बजेटले सबै निर्वाचन क्षेत्रलाई समान ढङ्गले हेर्नुपर्नेमा त्यसो नभई मन्त्रीले आफ्नो निर्वाचन क्षेत्रमा मात्रै केन्द्रित गरेकाले असन्तुष्टि बढेको बताए । ‘बजेटमाथिको छलफल गर्न भइरहेको ढिलाइका बारेमा सरकारलाई थाहा होला’, उनले भने, ‘प्रदेश सरकारले ल्याएको बजेटलाई पुनः संशोधन गर्नुपर्छ, नभए पारित हुँदैन भनेर पार्टीका केन्द्रीय सभापतिलाई भनेर आएका छौँ ।’
नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक सुरेन्द्रबहादुर पाल बजेटका बारेमा सत्तापक्षकै सदस्यबीच सहमति बन्न नसक्दा यसमाथि छलफलमा ढिलाइ भएको बताउछन् । ‘सरकारले आगामी आवको बजेट तथा कार्यक्रमका सवालमा नयाँ ढङ्गले जाने भनेर मुखले भने पनि व्यवहारमा त्यसो नगरेकाले हामीले विरोध गरेका छौँ,’ उनले भने, ‘प्रस्तुत बजेटको पुनः संशोधन गर्ने बारेमा सदनमा रहेका अन्य दलसँग एमालेले छलफल गरिरहेको छ ।’
सरकारले आगामी आवका लागि रु २९ अर्ब २६ करोड ५९ लाख ३२ हजारको बजेट प्रदेशसभामा प्रस्तुत गरेको थियो । उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रमेशसिंह धामीले आगामी आर्थिक वर्षको बजेटमाथिको छलफल छिट्टै सुरु हुने जानकारी दिए । उनले भने, ‘बजेटमाथिको छलफल समयमै चलाउने प्रक्रियाभित्रै छौँ ।’
प्रतिक्रिया