शनिबार, असार ७, २०८२

मिटरब्याज सम्बन्धी विधेयक कार्यसूचीमा नराखे अर्को सदन चल्न नदिने रविकाे चेतावनी

नेपालखोज २०८० असार २९ गते १५:१४

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले मिटरब्याज सम्बन्धी विधेयक कार्यसूचीमा नराखे अर्को सदन चल्न नदिने चेतावनी दिएका छन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै रास्वपाका सभापति रवि लामिछानेले शुक्रबारको कार्यसूची प्रभावित हुन नदिने उल्लेख गर्दै अर्को प्रतिनिधिसभाको बैठकमा मिटरब्याज सम्बन्धी विधेयक ल्याउन आग्रह गरे ।

‘उनले भने, ‘आगामी बैठकमा मिटरब्याज सम्बन्धी विधेयक राखिएन भने राष्ट्रिय स्वतन्त्र पार्टी सदन चल्न नदिने पक्षमा उभिने छ । यसपछि बस्ने बैठकमा यदि कार्यसूचीमा मिटरब्याज पीडितहरुको पक्षमा ल्याउन खोजिएको विधेयकलाई ल्याइएन भने पूर्व सूचना गरिरहेका छौं कि सदन चल्न सक्दैन । जनतालाई रुवाएर त्यसबारे मौन बसेर सदन चल्न सक्दैन ।’

सत्तापक्षकै केही दलका कारणले मिटरब्याज सम्बन्धी विधेयकलाई रोक्न खोजिएको गाईंगुई सुनिएको उल्लेख गर्दै उनले विधेयक सदनमा ल्याएपछि को पक्षमा र को विपक्षमा खुल्ने पनि बताएका छन् ।

सरकारले गत वैशाख २० गते ल्याएको मिटरब्याज सम्बन्धी अध्यादेश ल्याएको थियो । उक्त अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक २४ वैशाखमा प्रतिनिधिसभामा पेश भएको थियो ।

अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक ६० दिन भित्र पारित गरिसक्नुपर्ने व्यवस्था छ । त्यस अनुसार असार २० गतेसम्म प्रतिस्थापन विधेयक पारित गरिसक्नुपर्ने थियो ।

तर, एमाले, रास्वपा र राप्रपाले सदन चल्न नदिएका कारण मिटरब्याज सम्बन्धी अध्यादेशलाई प्रतिस्थापन विधेयक पारित हुन सकेको थिएन ।

प्रतिक्रिया