पार्टीले समानुपातिक र समावेशीको मुद्दालाई आत्मसात गरिरहेको छ : सभापति देउवा

काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको भावना र मर्मअनुसार पार्टीले समानुपातिक र समावेशीको मुद्दालाई आत्मसात गरिरहेको बताएका छन् । तमू (गुरुङ) सङ्घ नेपाल बागमती प्रदेश भेलाको उद्घाटन गर्दै उनले कांग्रेसलाई एकताबद्ध र सुदृढ तुल्याउन सबै जातजाति र समुदायको सहयोग र समन्वय आवश्यक रहेको उल्लेख गरे ।
पूर्वप्रधानमन्त्री देउवाले भने, ‘मुलुकमा राजनीतिक परिवर्तनलगायतका आन्दोलनमा सबै समुदाय र जनजातिको उत्तिकै सहभागिता र योगदान छ, राज्यका संरचना र दलभित्र सबै ठाउँमा समावेशिता आवश्यक छ ।’ पार्टी उपसभापति एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सुशासन, आर्थिक समृद्धि र रुपान्तरणको पक्षमा दल र सरकारले काम गरिरहेको बताए ।
उनले भने, ‘मुलुक र जनताको विरुद्धमा रहेको भ्रष्टाचार न्यूनीकरणमा यो वा त्यो भनिने छैन । सुशासन कायम गर्दै जनतालाई सहज र सरलरूपमा सेवा प्रवाहलाई चुस्त तुल्याइने छ, दुई दिनभित्र मिटर ब्याजीसम्बन्धी विधेयक सदनबाट पारित हुन्छ ।’ महामन्त्री विश्वप्रकाश शर्माले मातृ पार्टी कांग्रेसलाई सुदृढ तुल्याउँदै राज्यलाई समृद्धिको यात्रामा सक्रियाताका साथ लाग्न सबै जातजाति र समुदायको कर्तव्य हुने धारणा राखे ।
सहमहामन्त्री भीष्मराज आङदम्बेले कांग्रेसलाई अहिलेको उचाइमा पुर्याउन गुरुङ समुदायले खेलेको भूमिका अतुलनीय र अविस्मरणीय रहेको बताए । पूर्वमहामन्त्री कुलबहादुर गुरुङले प्रत्येक समुदायले आफ्नो समुदाय, संस्कृति र सभ्यताको संरक्षण र संवर्द्धन गर्दै देश विकासको अभियानमा जुट्न आवश्यक रहेको धारणा व्यक्त गरे । पार्टीका प्रवक्ता एवं अर्थमन्त्री डा प्रकाशशरण महतले नेपाल सबै जातजाति, धर्म, समुदाय, संस्कृति, सभ्यता र वेषभूषाका हिसाबले साझा पहिचान बोकेको मुलुक भएको बताए ।
केन्द्रीय सदस्य तारामान गुरुङले पार्टी र सङ्गठनको हितका लागि भेलाबाट प्राप्त हुने सुझाव महत्त्वपूर्ण हुने भएकाले कार्यान्वयनका लागि पार्टी नेतृत्वलाई सुझाव दिए । अर्का केन्द्रीय सदस्य राधा घलेले राष्ट्रियता, समावेशी लोकतन्त्र र समाजवाद मुख्य आदर्श बोकेको कांग्रेसले समावेशी चरित्रलाई बलियो तुल्याउँदै नेता तथा कार्यकतालाई न्यायोचित जिम्मेवारी र मूल्याङ्कन गर्ने परिपाटीको विकास गर्न सुझाव दिए ।
नेपाल लोकतान्त्रिक आदिवासी जानजाति महासङ्घका अध्यक्ष ओमबहादुर घर्ती र सङ्घका अध्यक्ष भुवनसिंह गुरुङले विगतमा मुलुकमा व्याप्त अन्याय, अत्यचार र राजनीतिक परिवर्तनका लागि आदिवासी जनजाति समुदायको ठूलो योगदान रहेकाले समानुपातिक समावेशी सिद्धान्त कार्यान्वयन गर्दै सोहीअनुरुपको जिम्मेवारी दिइनुपर्ने विचार प्रकट गरे ।
बागमती प्रदेश मातहतका १३ जिल्लाका तमू समुदायको भेलाले सङ्गठन र पार्टी सृुदृढीकरणका लागि ठोस निष्कर्षसहितको सुझाव प्रस्तुत गर्ने छ । सो अवसरमा सभापति देउवाले ती जिल्लाका तमु समुदायका नयाँ अध्यक्षलाई पार्टीको जिम्मेवारी र सदस्यतासम्वन्धी प्रमाणपत्र प्रदान गरे । कार्यक्रममा तमू समुदायको संस्कृति र वेषभूषा झल्कने गीत, सङ्गीत र नृत्य प्रस्तुत गरियो ।
प्रतिक्रिया