बुधबार, वैशाख १७, २०८२

‘हिमालको ऐना’ बराह ताल

नेपालखोज २०८० साउन ७ गते ५:००

गलेश्वर । शिरानमा घना जंगल । पूर्वतर्फ मोहोडा गरेको सुन्दर समथर फाँट । जताततै हरियाली नै हरियाली । गुजुल्टो परेको बस्ती ।बस्तीको माथिल्लो र जंगलको तल्लोपट्टि उत्तरपश्चिम लमतन्न फैलिएको नेपालको नक्सा आकारको निस्कोट बराह ताल ।म्याग्दीको मालिका गाउँपालिका–१ मा पर्ने निस्कोट गाउँको शिरानमा रहेको बराहताल अलि टाढाबाट हेर्दा नेपालको नक्साजस्तै देखिन्छ ।

यो तालमा धौलागिरि  हिमालको प्रतिविम्ब स्पष्टसँग देखिने हुनाले यस ताललाई ‘हिमालको ऐना’ पनि भनेर चिनिन्छ । निस्कोट सामुदायिक वनको पुछारमा रहेको यो ताल उत्तरपश्चिम भएर फैलिएको छ । क्षितिजमा धौलागिरि हिमाल देखिन्छ भने सोही हिमालको प्रतिविम्ब तालमा देख्दा यहाँ पुग्ने आन्तरिक पर्यटक छक्कै पर्ने मालिका –१ का वडाध्यक्ष टंकप्रसाद पुनले बताए ।उनका अनुसार गाउँको शिरान र जंगलको पुछारमा रहेको यो ताल कहिल्यै पनि फोहोर हुँदैन ।

यहाँ जंगलका पात पतिङ्गर परिहाले भने पनि पन्छी (चरा) हरूले चुच्चोले टिपेर बाहिर फ्याक्ने गर्दछन् । निस्कोट गाउँमा पुगेपछि घना वनजंगलको बीच भाग र केही मानव बस्ती रहेको ठाउँमा बराहतालको लोभलाग्दो दृश्य हेर्न पाइन्छ । समुद्री सतहदेखि २ हजार ३०० मिटरको उचाइमा अवस्थित बराहताल र तालको आसपासबाट मनोरम हिमशृंखला देखिन्छन् । बराहताल क्षेत्रबाट संसारको सातौं तथा नेपालको दोस्रो अग्लो चुचुरो धौलागिरि हिमालको साथै गुर्जा, नीलगिरि, अन्नपूर्ण, माछापुच्छे«, मानापाथी लगायतका आधा दर्जनभन्दा बढी हिमाल र मनोरम दृश्यको प्रत्यक्ष रूपमा अवलोकन गर्न सकिने वडाध्यक्ष पुनले बताए ।

बराहतालमा वन जंगल र हिमाल समेत आकर्षक रूपमा देखिने निस्कोटका स्थानीय रमेश पुनले बताए । रोमाञ्चक भूबनोट, हरियाली र विविधताले युक्त सुन्दर गाउँ, मनमोहक प्रकृति र यही प्रकृतिको नेरोफेरोमा रहेको चित्ताकर्षक बराहतालले अहिले पर्यटकलाई पर्खिरहेको छ । पर्यटकीय हिसाबले प्रचुर सम्भावना बोकेको र मौसम खुलेको समयमा आँखै अगाडि सेताम्मे हिमालको लर्कन देखिने निस्कोटको बराह तालमा थोरै पर्यटक पुग्छन् ।भौगोलिक रूपमा विकट र प्रचारप्रसारको अभावमा थोरै पर्यटक पुगे पनि यहाँ पुग्ने पर्यटक मज्जाले रमाउने गर्दछन् । झण्डै २ रोपनी क्षेत्रफलमा फैलिएको बराहतालको आवश्यक संरक्षण, प्रचारप्रसार तथा प्रवद्र्धन गर्नुपर्ने आवश्यकता रहेको स्थानीय बताउँछन् । हिमालको वरिपरि लुकामारी खेलिरहने बादलको घुम्टोले अझै सुन्दरता थपिदिन्छ ।

पहाड र आकाश जोडिएको क्षितिजमा पर्ने हिमाल अनि तालमा देखिने हिमालको दृष्यले त्यहाँ पुग्नेलाई अचम्मित बनाउँछ ।निस्कोट गाउँमा पुग्ने जो कोही पनि बराहतालको अवलोकन गर्न तथा ताललाई पृष्ठभूमिमा पारेर फोटो र सेल्फी खिच्न भनेर त्यहाँ जाने गरेका छन् । निस्कोट गाउँबाट आधा घण्टाको दूरीमा पर्ने बराहताल स्थानीयका अनुसार झण्डै २० फिट गहिरो रहेको अनुमान गरिएको छ ।

निस्कोट मालिका गाउँपालिकाको दक्षिण भागमा पर्दछ । कूल १७ दशमलव ३ वर्गकिमीमा फैलिएको निस्कोटमा जम्मा १ हजार ९९४ जनसंख्या रहेको छ । जसमध्ये महिला १ हजार २६ र पुरुष ९६८ रहेका छन् । यो वडा मंगला गाउँपालिका र बागलुङ जिल्लासँग जोडिएको छ । निस्कोटमा मकै, कोदो, गहुँ, जौ, बाली हुन्छ । साउन महिनामा निस्कोटमा रहेको बराहतालको दृश्य निकै नै रमणीय देखिने स्थानीय वुद्ध विकले बताए । 

प्रतिक्रिया