शनिबार, वैशाख १३, २०८२

दैनिक कति पानी पिउनुपर्छ ? 

नेपालखोज २०८० साउन ८ गते ६:३८

काठमाडौं । स्वस्थ रहन शरीरमा पानीको सन्तुलन कायम राख्नु आवश्यक छ । जब हामी कम पानी पिउँछौँ तब हाम्रो शरीरले केही सङ्केत दिन्छ । जब हाम्रो शरीर निर्जलित हुन्छ तब हामीलाई तिर्खा लाग्छ । यसले हामीमा टाउको दुख्ने र थकान जस्ता समस्या सृजना गर्न सक्छ । कम पानी पिउँदा हाम्रो पिसाबको रङ पनि पहेँलो हुन्छ । धेरै पसिना निस्कँदा वा व्यायाम गर्दा शरीरमा पानीको कमी हुन सक्छ । 

डिहाइड्रेसनले मोटोपन, मधुमेह, क्यान्सर तथा मुटुसम्बन्धी रोगहरू निम्त्याउन सक्छ । यो कुनै पनि उमेरमा हुन सक्छ । त्यसैले हामीले प्रत्येक दिन पर्याप्त पानी पिउनुपर्छ । हामीले सादा पानी मात्र पिउनुपर्छ भन्ने छैन । यसको सट्टा ताजा जुस वा अन्य तरल पदार्थ पनि सेवन गर्न सकिन्छ। यसले शरीरमा तरल पदार्थको स्तर कायम राख्न पनि मद्दत गर्छ । 

कम पानी पिउँदा हुने साइड इफेक्ट 

कब्जियत 

कम पानी पिउँदा कब्जियतको समस्या उब्जिन सक्छ । कम पानी पिउनेहरूको खाना पच्न सक्दैन र शौचमा पनि कठिनाइ उत्पन्न हुन्छ । त्यसैले खाना खानुभन्दा आधा घण्टा अगाडि र खाना खाएको आधा घण्टापछि पानी पिउनु पर्छ । यसले धेरैजसो पाचन समस्या ठिक गर्न मद्दत गर्दछ । 

मिर्गौला समस्या 

मिर्गौलाले हाम्रो शरीरको अशुद्धता हटाउने काम गर्छ तर पानीको कमीले पनि मिर्गौलाको कार्यलाई असर गर्छ । यसका साथै मिर्गौलामा पत्थरी हुने खतरा पनि बढ्छ । त्यसैले हामीले दिनहुँ पर्याप्त मात्रामा पानी पिउनुपर्छ । 

पिसाब नलीको सङ्क्रमण 

निर्जलीकरणले पिसाब नलीमा सङ्क्रमण हुन सक्छ । पानीले हाम्रो शरीरलाई भित्रबाट सफा गर्न मद्दत गर्छ र पिसाबको मद्दतले शरीरको अशुद्धता युरियाका रूपमा बाहिर निस्कन्छ । यदि हामीले उचित मात्रामा पानी सेवन गरेनौँ भने पिसाबको इन्फेक्सन हुने जोखिम बढ्छ । 

छाला निर्जलीकरण 

मानिसहरू चम्किलो र सुन्दर छालाका लागि कडा परिश्रम गर्छन् तर उनीहरू दिनहुँ कति पानी पिउनु पर्छ भन्ने कुरामा ध्यान दिँदैनन् ।पानीको कमीले छालालाई सुख्खा र निर्जीव बनाउँछ । यदि आफ्नो छालालाई हाइड्रेटेड र चम्किलो राख्न चाहने हो भने प्रशस्त पानी पिउनुपर्छ। 

ऊर्जा स्तर र मस्तिष्कको क्षमता कार्य प्रभावित 

कम पानी पिउँदा हाम्रो ऊर्जा स्तर घटन सक्छ र मस्तिष्कको काम गर्ने क्षमता प्रभावित हुन्छ । यसले हाम्रो मुड बिग्रन्छ , एकाग्रता गुम्न सक्छ र टाउको दुख्न सक्छ।यसले दिनभरको कामलाई असर गर्न सक्छ त्यसैले पनि हामीले प्रशस्त पानी पिउनुपर्छ। 

जब शरीरमा पानीको स्तर राम्रो हुन्छ तब हाम्रो शरीरले हानिकारक, विषाक्त तत्त्वहरू सजिलै हटाउन सक्छ र यसले हाम्रो उमेर र स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ भने मस्तिष्कले राम्रोसँग काम गर्नेछ । यस्तो अवस्थामा मस्तिष्कको ऊर्जा र क्षमताहरू बढेको महसुस हुनेछ।

कति पानी पिउने ?

सबैले दिनमा २-३ लिटर पानी अर्थात् दिनमा ८-१२ गिलास पानी पिउनुपर्छ।यसले शरीरमा डिहाइड्रेसन हुन दिँदैन । यसका लागि जुस, सूप वा अन्य तरल पदार्थ सेवन गर्न सकिन्छ । चिया वा कफीलाई तरल पदार्थका रूपमा उपभोग गर्नु हुँदैन  किनभने चिया वा कफीको सेवनले शरीरमा क्याफिन पैदा गर्छ र क्याफिनको मात्रा बढ्दा डिहाइड्रेसन हुन सक्छ। प्रशस्त पानी पिउँदा क्यालोरी बर्न भई छिटो वजन घटाउन मद्दत मिल्छ ।

बिहान उठ्ने बित्तिकै २ गिलास मनतातो पानी पिउने हो भने पेटसँग सम्बन्धित समस्या जस्तै कब्जियत वा अपच आदि हुँदैन र पेट पनि सफा रहन्छ ।  हामी तामाको भाँडामा राखिएको पानी पिउन सक्छौँ वा पानीमा कागती र मह मिसाएर पिउन सक्छौँ । मानिसहरू खानाको साथमा पानीको बोतल राख्छन् र खाना खाँदा पूरा पानी पिउछन्। यसो गर्नु सरासर गलत हो ।

कहिल्यै खानासँगै पानी पिउनुहुँदैन ।  यसले खानाको पाचन प्रक्रियालाई सुस्त बनाउँछ । यदि पानी पिउनु आवश्यक छ भने एक-दुई घुटको मात्र पिउनुपर्छ ।  उभिएर पानी पिउँदा पनि स्वास्थ्यलाई हानी गर्छ । यसो गर्दा जोर्नीहरू दुख्छ । त्यसैले बसेर मात्र पानी पिउनुपर्छ । एकै पटक धेरै पानी पिउनु हुँदैन, बरु सानो चुस्कीमा पानी पिउनु राम्रो हुन्छ । एकै चोटि धेरै पानी पिउँदा शरीर भारी हुने, चक्कर लाग्ने वा निद्रा लाग्ने हुन सक्छ।

प्रतिक्रिया