शनिबार, वैशाख १३, २०८२

स्तनपान गराउँदा ध्यान दिनुपर्ने कुरा

नेपालखोज २०८० साउन ९ गते १०:०३

स्तनपान गराउनु अघिपछि स्तन सफा गर्नुपर्छ र हात धुनुपर्दछ । सफा र खुकुलो लुगा लगाउनुपर्दछ ।आमाले स्तनलाई C (अङ्ग्रेजी अक्षरको सी आकार) आकारमा समात्नुपर्दछ ।

बुढी औँला स्तनको मुन्टो वरिपरिको कालो भागमाथि हुनुपर्दछ र अरू आौँला स्तनको तलपट्टि हुनुपर्छ ।शिशुलाई काखमा राख्ने र शिशुको ढाड र टाउको अलिकति अर्को हातमाथि राखेर अलि उठाउँनुपर्छ र दुध चुसाउनुपर्दछ । 

दुध चुसाउनु पहिले शिशुलाई स्तनमा ओठले, हातले चलाउन उत्प्रेरित गर्ने जसले गर्दा दुध पग्रन्छ र शिशुले दुध चुस्न मिहेनत गर्नु पर्दैन ।स्तनपान गराउँदा एकपटकमा एकापट्टिको दुध पूर्ण खाली हुने गरी खुवाउनुपर्छ । अर्कोपटक अर्कोपट्टिको स्तनपान गराउनुपर्दछ, जसले गर्दा पूर्ण स्तनपान हुन्छ ।

दूबैतिरको आधा आधा खुवाउदा दुधमा भएको पानीको मात्रामात्र शिशुले खाने हुनाले शिशुले आवश्यक पूर्ण पोषण पाउन सक्दैन । शिशुले जति दुध चुस्छ, त्यति नै बढी प्रोलाक्टिन हर्मोन निष्कासन भई दुध बन्दछ ।दुध खुवाइसकेपछि शिशुलाई काँधमा अडेस लगाएर पिठिउँमा मुसारी डकार्न लगाउनुपर्छ । यसले गर्दा शिशुले स्तनपान गर्ने बित्तिकै वान्ता गर्दैन ।

सुत्केरी आमाले ज्वानो (अजवाइन) को झोलसहित थप पोषिलो खाना खानुपर्दछ, जस्तैः दाल, गेडागुडी, दुध र अन्य तरल खानेकुरा बढी खानुपर्छ ।सुत्केरी भएको ४२ दिनभित्र भिटामिन ए क्याप्सुल एक मात्रा खानुपर्छ ।

भिटामिन ए क्याप्सुल नजिकैको स्वास्थ्य संस्था वा महिला स्वास्थ्य स्वयम्सेविकाबाट निःशुल्क उपलब्ध हुन्छ ।सुत्केरी भएको ४५ दिनसम्म नियमित रूपले आइरन फोलिक एसिड चक्की सेवन गर्ने र दुई बालबालिकासहितको लोगो भएको आयोडिनयुक्त नुन हाली बनाइएको खाना खानुपर्दछ ।

दुध नआउने, बच्चाले दुध खान नमान्ने, स्तनका मुन्टामा घाउ भएमा स्वास्थ्य संस्था वा महिला स्वास्थ्य स्वयम्सेविकालाई सम्पर्क गर्नुपर्दछ ।शिशु बिरामी छ भने पनि बारम्बार दुध खुवाउनुपर्छ । शिशुले आमाको दुध पनि खाने प्रयास नगरेमा तुरुन्त नजिकैको स्वास्थ्य संस्थामा लैजानुपर्दछ । 

स्तनपान गराउँदा आमाले शिशुतिर हेर्ने, मुस्कुराउने, बोल्ने र गीत गुनगुनाउने गर्नुपर्दछ ।एचआइभी सङ्क्रमित आमाले स्वास्थ्यकेन्द्रमा सम्पर्क गनुपर्छ । सङ्व्रmमित आमाले पनि छ महिनासम्म आफ्नो शिशुलाई मात्र स्तनपान गराउनुपर्छ । त्यसपछि शिशुलाई आमाको दुधसँग पूरक खाना पनि दिनुपर्छ र स्वास्थ्यकर्मीको सम्पर्कमा रहनुपर्छ । 

एचआइभी सङ्क्रमित आमाको स्तनका मुन्टा चर्किएका छन् वा रगत बगिरहेको छ भने स्तनपान गराउनु हुन्न । साथै नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरी आवश्यक उपचार र सरसल्लाह गर्नुपर्दछ ।कोभिड–१९ भएका आमाले पनि स्तनपान गराउनुपर्छ ।

स्तनपान गराउने उपयुक्त आसन तथा सम्पर्क 

  • बालबालिकाको शरीर र मुख आमाको स्तनतिर फर्किएको हुनुपर्दछ ।
  • बालबालिका आमासँग टाँसिएको हुनुपर्दछ ।
  • आमाले बालबालिकाको सम्पूर्ण शरीरलाई थामेको हुनुपर्छ । 
  • बालबालिकाको चिउँडोले आमाको स्तन छोएको हुनुपर्छ ।
  • स्तनको कालोभाग सबै बालबालिकाको मुखभित्र पसेको हुनुपर्छ ।
  • बालबालिकाको तल्लो ओठ बाहिर फर्केको र मुख पूरा खुलेको हुनुपर्छ ।

युनिसेफ नेपाल

प्रतिक्रिया