जनकपुर रेलवेको पुल

नेपालमा रेलगाडी गुडेको इतिहास खोज्न थाल्यौ धेरैलाई थाहा नभएको इतिहास भेट्दछौ । नेपालमा रेलगाडीको शुरुवात पश्चिम नेपालमा भएको थियो ।
इष्ट इण्डिया कम्पनीको समयमा अवध राज्य अन्तर्गत रहेको यो रेलवे वि.सं. १९६२ मा शुरु भएको थियो । नेपालको बर्दियाको तारातालसम्म २५ किमी लामो रेलले धेरै नै सखुवाका काठहरु ओसारेको थियो । रेलको लिकको लागि आबश्यक पर्ने सखुवाको रुख सकिएछ पछि सो रेल पनि बन्द भयो ।
चन्द्रशम्शेर कै शासनकालमा नेपालमा दोश्रो रेलसेवा शुरु भयो । नेपाल गवर्मेन्ट रेलवे नाम दिइएको सो रेल सेवा वि.सं. १९८३ फागुन ५ गतेबाट सञ्चालनमा आएको थियो ।
४२ किमी लामो यो रेलवे भारतको रक्सौलबाट अमलेखगञ्जसम्म जोडिएको थियो । कलकत्ताको मेसर्स एण्ड मार्टिन कम्पनीले नै सञ्चालन गरिरहेको सो रेल सेवालाई पछि जुद्धशम्शेरको शासनकालमा नेपाल सरकारको मातहतमा ल्याइएको थियो ।
यस पछि नेपालमा तेश्रो रेल सेवा पनि श्री ३ चन्द्रशम्शेरको समयमा नै शुरु भएको थियो । वि.सं. १९८४ मा निर्माण भएको रेलसेवा पनि बर्दिवासका जंगलबाट रुख कटानी गरि भारत तर्फ काठ निकाशी गर्नको लागी बिजलपुरासम्म ५३ किमी लामो बनाइएको थियो । पछि पर्याप्त काठहरु ओसारी सकेपछि नेपाल सरकारलाई सुम्पिएको थियो ।
वि.सं. १९९४ मंसिर १६ गते विबाह पञ्चमीकै दिन पारेर भारतीय तीर्थयात्रीहरु बोकेर जनकपुर आएको थियो । यसरी यो रेलको नामाकरण नेपाल जनकपुर जयनगर रेलवे (NJJR) गरि प्यासेन्जर ट्रेनमा परिवर्तन गरियो । यस रेलवे मार्फत भारतीय तिर्थयात्रीहरुलाई जानकी मन्दिर तर्फ आकर्षित गर्न सफल भएको थियो ।
यसपछि पनि नेपालमा केही अन्य रेलसेवा पनि सञ्चालनमा आएको थियो । चौथो रेलसेवा भने काठमाडौ उपत्यका भित्र मातातिर्थ देखी लैनचौरसम्मको १० किमी लामो थियो । मातातिर्थ रेलवे नाम दिइएको यो रेल भने रोपवेबाट मातातिर्थ सम्म आइपुगेका सामग्रीहरु ओसार्नको लागि बनाइएको थियो ।
पाँचौ रेल सेवा कोशी ब्यारेज निर्माणको क्रममा भारत सरकारले निर्माण सामग्री ओसारपसारको लागि चतरा देखि भारतको वीरपुर तथा बथनाहासम्म जोडिएको थियो । यस रेलसेवालाई कोशी प्रोजेक्ट रेलवे (के.पी.आर.) नामाकरण गरिए पनि नेपालीहरुले ढुङ्गा बोक्ने हुँदा ढुङ्गे रेल भनेर भन्दथे । पछि फुस्रेदेखि घोपासम्म ट्रकमा ढ्ङ्गा ओसार्ने तथा घोपा देखी भीमनगरसम्म रेलले लगिन्थ्यो ।
छैठौ बालरेल भने भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुले राजा त्रिभुवनको समयमा नै दिएका थिए । शुरुमा गोपाल रेल नाम दिइए पनि पछि भृकुटीमण्डपमा बच्चाहरुको लागि मनोरञ्जनको रुपमा राखिए पछि यसलाई बालरेल नामाकरण गरिएको थियो ।
यहाँ तस्विरमा जयनगरबाट जनकपुर तर्फ आउदै गरेको देख्न सकिन्छ । जनकपुर रेलवे स्टेशन पुग्नु अगाडि जलाद खोलामाथिको दृश्य हो यो । यस्तै दृश्य नेपाल गवर्मेन्ट रेलवेको जीतपुर नजिकैको लालका पुल माथि पनि गुडेको तस्विर देख्न सकिन्छ ।
रेलवेका लागि बनाइएका पुलहरुमा लिकका लागि मात्रै ठूला ठूला फलामा सत्तल बिछ्याइएका हुन्थे । जसमाथि रेलवेका लिक राखिएका हुन्थे । सामान्यतया मानिस वा अन्य सवारी साधन गुडाउन नमिल्ने भए पनि मानिसहरु आवतजावत गर्न तथा साइकल लिएर भने हिड्ने गर्दथे । यस किसिमका पुलहरु रेलवेको बाटोमा पर्ने खोलाहरुमा प्राय बनाइएका हुन्थे ।
जनकपुर रेलवेले फेरी पूनर्जीवन पाएको छ । तर नेपाल गवर्मेन्ट रेलवे इतिहासमा बिलुप्त भएको छ ।
प्रतिक्रिया