बुधबार, असार १८, २०८२

धोबीखोलाको भत्केको पुल

सुनिल उलक २०८० साउन ३२ गते ८:०१

काठमाडौं । काठमाडौं उपत्यकामा चाबहिल र हाडीगाउँ बिच धोबीखोला क्षेत्रको नाम नै भत्केको पुल रहेको छ । हुन त धोबीखोला माथि नयाँ पुल बनेको छ साथमा मानिसहरु हिड्नको लागि सानो अर्को पुल पनि छ । दुबै पुल भत्केका छैनन् । तर पनि त्यो ठाउँको नाम भत्केको पुल रहेको छ । आखिर किन यो ठाउँको नाम भत्केको पुल रह्यो होला भन्ने धेरैलाई खुलदुली हुन सक्छ ।

इतिहासका कुरा कोट्याउनु पर्दा यहाँ पुरानो पुल थियो । जुन धोबीखोलामा आएको बाढीले भत्कियो । तर भत्किएको पुल लामो समय सम्म नबन्दा मानिसहरु त्यहि भत्किएको पुल माथि चढेर धोबीखोला तर्न बाध्य भए । एवं क्रमले मानिसहरुले त्यो पुललाई मात्र होइन त्यो ठाउँलाई नै भत्केको पुल भनेरै परिचय दिन थाले ।

लामो समय सम्म नयाँ पुल नबने पछि मानिसहरुलाई पनि भत्केको पुल कुन ठाउँमा छ भनेर ठम्याउन सजिलो भएको थियो । सबैले त्यो भत्केको पुललाई मात्र भत्केको पुल भनेर चिनाएनन् । त्यो सिङ्गो क्षेत्रलाई नै भत्केको पुलको नामले चिनाउन थाले । अहिले भत्केको पुलको कुनै अस्तित्व बचेको छैन । त्यस स्थानमा नयाँ पुल बनिसकेको छ । तर पनि मानिसहरुले त्यो ठाउँलाई भत्केको पुल नै भन्ने गर्दछन् । यहि चिनारी नै त्यो ठाउँको लागि सजिलो भएको छ ।

बि.सं. २०१५ सालमा मन्त्री परिषदको अध्यक्षको रुपमा सुवर्ण शम्शेर जबरा रहेको समय उनले यस धोबीखोला माथिको पुलको समुद्घाटन गरेका थिए । नेपालको पुरानो निर्माण सामग्री चुना सुर्किबाट सो पुल बनाइएको थियो । लामा लामा काठका सत्तरी निदालहरु राखेर बनाइएको सो पुलका जग भने शायद कमजोर थियो होला । त्यसैले पुल लामो समयसम्म टिक्न नै सकेन ।

२०१८ सालको साउनको बर्षे भेलले धोबीखोलामा बनाइएको सो पुल भत्कियो । पुल भत्किए पनि भत्किएको पुलको भग्नावशेष खोलामै रहेको थियो । तसर्थ बाढी ठूलो आएको मान्न सकिदैन । पुलको संरचना कमजोर भएको हुँदा पानीको भेलले भत्कायो तर भेलले पुललाई बगाएर लगेन । मानिसहरु बाध्यताले त्यहि भग्नावशेष तथा काठका निदालहरुमा टेकेर खोला तर्ने गर्दथे ।

झण्डै २५-३० वर्ष भत्केको पुलको अवशेष धोबीखोलामा नै रह्यो । भत्केको पुलका अवशेषबाट नै मानिसहरु खोला तर्न बाध्य भए । भत्केको पुलका अवशेष खोलामा नै रहनुले पनि यो ठाउँको परिचय नै भत्केको पुल रहन गयो । तिनै अवशेषका कारणले पनि त्यो ठाउँको चिनारी भत्केको पुल भनेर गर्न सबैलाई सहज भयो ।

बिसं २०५० सालमा यहाँ जापानी सहयोगमा नयाँ पुल बन्यो । पुल बने पछि आवताजावत गर्न धेरै सहज भयो । तर भत्केको पुलको नामले भने छोडेन । पुल नयाँ र भत्केको अवस्थामा नहुँदा पनि मानिसहरुले यो नयाँ पुललाई पनि भत्केको पुल नै भन्न थाले । शायद धेरै मानिसमा पर्याय शब्द भएको हुँदा पनि भत्केको पुलको नाम बदल्न नखोजेको पनि हुन सक्छ ।

धोबीखोलाको दायाँवायाँ सडक बनाउनको लागि नेपाल सरकारले धोबीखोला कोरीडोरको योजना जाइका द्वारा २०५० सालमा प्रस्तुत गरिए पछि २०५६ सालमा धोबीखोला कोरीडोर परियोजनाको शुरुवात काठमाडौं महानगरपालिकाबाट भएको थियो । तर खासै काम हुन सकेन । जसको कारणले २०६४ सालमा काठमाडौ उपत्यका नगर विकास समितीलाई नेपाल सरकारले जिम्मा लगाएर धोबीखोला कोरीडोर परियोजनाको शुरुवात गर्यो ।

बुढानिलकण्ठको राम मन्दिर देखि बुद्धनगरको बागमती दोभानसम्मको १२ किमी लामो नदिको दुबैतर्फ गरेर २४ किमी सडक बनाउने तथा ठाउँ ठाउँमा पुल बनाउने योजना अगाडि बढायो । यसै योजना अन्तर्गत काम शुरु भए पछि भने धोबीखोलामा धेरै ठाउँमा नयाँ पुलहरु बने । पुलहरुको नाम भने रङका आधारमा राखिएको छ ।

पुललाई भिन्न रङले रङ्गाउदै पुलको नामाकरण गरिएको छ । यसरी रङ्गाउने क्रममा यस भत्केका पुल रहेको ठाउँमा बनेको पुलको रङ भने पहेलो लगाइएको छ र यस पुलको नाम पहेलो पुल भनेर राखिएको छ । तर पनि सबैले भत्केको पुल भन्न नै सहज मान्ने गर्दा भत्केको पुल नै नाम अझै प्रख्यात भइरहेको छ ।

मैतीदेवी देखि भत्केको पुल सम्मका पुलहरुको नामाकरण सेतो पुल, रातो पुल, खैरो पुल, कालो पुल, बैजनी पुल, पहेलो पुल राखिएको छ । यसरी पुलको नामाकरण स्थान विशेष भन्दा पनि पुलमा पोतिएको रङको आधारमा गरिन थालेको देखिन्छ । भत्केको पुल भन्नु भन्दा पहेलो पुल भन्नु नै राम्रो लाग्दछ । हेरौ भविष्यमा भत्केको पुलको नाम पहेलो पुलले कतिको ब्यापकता लिनेछ ।

यहाँ राखिएको पुरानो पुलको जानकारी हाडिगाउँ निवासी सूर्यलाल प्रजापतिबाट प्राप्त भएको हो । वहाँ कुनै बेला त्यस वडा (५)का अध्यक्ष पनि हुनुहुन्थ्यो । वहाँसंग कुराकानी गरेर सो को जानकारी तथा भत्केको पुलको पुरानो फोटो पठाइ सहयोग गरिदिनु हुने मित्र अनिर थापालाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु ।

प्रतिक्रिया