विश्व मानवता दिवस मनाइँदै

काठमाडौं । विश्व मानवता दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्षको अगष्ट १९ तारिखमा यो दिवस मनाउने गरिन्छ ।
यस वर्षको नारा ‘जे भए पनि सँगै’ अर्थात् जस्तोसुकै परिस्थितिमा पनि मानव अधिकारका लागि सबै समुदायसँग काँधमा काँध मिलाएर काम गर्ने भन्ने रहेको छ । संयुक्त राष्ट्रसङ्घअन्तर्गत नेपाल रहेका विभिन्न निकाय तथा अन्य गैरसरकारी सङ्घसंस्थाले मानवीय सहयोगी क्षेत्रमा जस्तोसुकै परिस्थितिमा पनि काम गर्ने प्रणसहित दिवस मनाइरहेका छन् ।
सन् २००३ को अगष्ट १९ मा इराकको बगदादस्थित संयुक्त राष्ट्रसङ्घमा भएको आक्रमणमा परी राष्ट्रसङ्घका २२ कर्मचारीको मृत्यु भएको थियो ।
सोही दिनको स्मरण गर्दै विश्वभर मानवता सहायताका लागि काम गर्दै आएकालाई प्ररेणा मिलोस् भन्ने उद्दश्यले राष्ट्रसङ्घले यो दिवस मनाउन सुरु गरेको हो । उक्त घटनाको २० वर्षपछि आज संयुक्त राष्ट्रसङ्घले विश्वभरका दुई सय ५० अर्बौं मानिसलाई सहयोग गर्ने लक्ष्यसहित काम गरिरहेको जनाएको छ ।
मानव अधिकारका लागि गर्ने प्रयाससँगै सङ्घले सामना गर्नुपर्ने चुनौतीसमेत बढेको छ । बढ्दो भूराजनीतिक तनाव, अन्तर्राष्ट्रिय मानव अधिकारसँग सम्बन्धित कानुनको बेवास्ता र जानाजानी हुने आक्रमणले मानव अधिकारको विषयमा चुनौती थपेको हो ।
मानव अधिकारको सम्मान, संरक्षण तथा संवद्ध्र्रन गर्नका लागि मानव अधिकार रक्षकको भूमिका महत्वपूर्ण हुने राष्ट्रिय मानव अधिकार आयोगले जनाएको छ । आयोगका अनुसार मानव अधिकार रक्षकको पहिचान, सुरक्षा, सञ्जालीकरण तथा उनीहरुको अधिकारको संरक्षण, सम्वद्र्धनलगायतका विषयमा राज्यबाट धेरै काम हुन सकेको छैन ।
आयोगको मानव अधिकार रक्षक सम्मेलन प्रतिवेदन, २०७९ अनुसार मानव अधिकार रक्षकले धम्की, आक्रमण, दबाब तथा मानसिक तनाव समेतको सामना गर्नुपरेको उल्लेख गरिएको छ । उक्त प्रतिवेदनले विभिन्न किसिमका समस्या, जोखिम तथा चुनौतीको सामना गर्नुपरेको विषयलाई सम्बोधन गर्न नीतिगत तथा संयन्त्रगत व्यवस्थाको आवश्यकतालाई औँल्याएको छ ।
प्रतिक्रिया