मंगलबार, असार १७, २०८२

झापाकी कमला मुर्मु इराकमा तीन वर्षदेखि ‘बन्धक’

नेपालखोज २०८० भदौ ३ गते ७:५२

झापा । अर्जुनधारा नगरपालिका–६ की ३० वर्षीया कमला मुर्मु इराकमा अज्ञात गिरोहको बन्धक बनेको जनाउँदै उनकी आमाले उद्धारका लागि अपिल गरेकी छन् । तीन वर्षअघि विसं २०७७ भदौ १० गते वैदेशिक रोजगारीका क्रममा ओमान लाने भनेर कमलालाई मानव तस्करले इराक पुर्याएर बेचेको उनकी आमा लखी मुर्मुले जानकारी दिइन् ।

तीन वर्षदेखि बन्धक अवस्थामा रहेको खुलासा भए पनि कमलाको उद्धारका लागि सरकारी निकायबाट कुनै प्रयास हुनसकेको छैन । दोहोरो सम्पर्क हुन नसकेका कारण कमलालाई इराकको कुन सहरमा बन्धक बनाइएको हो भन्नेबारेमा प्रष्ट हुनसकेको छैन । कमलाकी आठ वर्षकी छोरी काजल मुर्मुको लालनपालन हजुरआमा लखीले नै गरिरहेकी छन्। काजल स्थानीय ग्लोबल भिजन स्कुलमा कक्षा ५ मा अध्ययनरत छिन् । भारतको गुजरातमा रहेका पतिले छाडेपछि कमला जीविकाका लागि वैदेशिक रोजगारीमा जान बाध्य भएकी हुन् ।

इटहरी बाँसबारीका गोविन्द कट्टेल र बिर्तामोड–१ का मदन खरेलले ओमानमा राम्रो रोजगारीमा लगाइदिने भन्दै कमलालाई इराक पुर्याएको परिवारको दाबी छ । इराकमा बन्धक बनाउने गिरोहले कमलासहित दर्जनौँ महिलालाई घरेलु श्रममा लगाउने र त्यसबाट आर्जित नगद खोस्ने गरेको कमलाले भ्वाइस म्यासेजमार्फत बताएकी छन् । ‘अर्काको घरमा मरुन्जेल काममा लगाउँछन् र कमाएको पैसा पनि खोसिदोरहेछ’, छोरीको भ्वाइस म्यासेजबाट आएको खबरलाई उद्धृत गर्दै पीडितकी आमा लखीले भनिन्, ‘चाउचाउ र कहिलेकाहीँ रोटी आधापेट खान दिन्छन् । काममा जान आनाकानी गर्यो भने पिट्छन् । घरमा सम्पर्क गर्नसमेत दिँदैनन् ।’ बन्धक बनेकी कमलाले भ्वाइस म्यासेजमार्फत आफ्नो उद्धार नभए गिरोहले मार्ने त्रास रहेको जनाउँदै आएको उनकी आमा लखीले बताइन् ।

कमलाले खान नदिने मात्र नभएर चिसो भुइँमा सुत्न बाध्य पारेको र चर्को श्रम शोषण गरिरहेको बताउने गरेकी छन् । ‘दिउँसो कामका बेला सम्पर्क हुने सम्भावना हुँदैन’, लखीले बन्धक बनेकी छोरीको त्रासदीपूर्ण अवस्था सुनाउँदै भनिन्, ‘गिरोहका मान्छेहरू सुतेको मौका छोपेर घरको चार तलामाथि लुकेर मोबाइलबाट सानो स्वरमा भ्वाइस म्यासेज पठाएको भन्छिन् । यो थाहा पाए भने मार्छन् भन्ने डर छ ।’ गिरोहले गाडीमा ओसारेर विभिन्न घर र कम्पनीमा लगेर काम लगाउने र ल्याउने गर्दै आएको कमलाकी आमा लखीले बताए । बाहिरी संसारमा कसैसँग सम्पर्क गर्ने सम्भावना नभएकोसमेत उनले बताए ।

पीडित परिवारका तर्फबाट इलाका प्रहरी कार्यालय, वडा कार्यालय, नगरपालिका र माइती नेपाललगायतका उद्धार संस्थामा घटनाको जानकारी गराइसकेको धेरै समय बितेको छ । ती निकायले समेत उद्धारका लागि चासो नदेखाएको परिवारको गुनासो छ । गत वर्ष परिवारले नै एजेन्टलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा ल्याएर छलफल चलाएको थियो । त्यसबेला इटहरीका गोविन्द कट्टेल स्वदेश फर्काउने प्रतिबद्धता जनाएर फुत्किएका थिए । अहिले कट्टेल र खरेल दुवै सम्पर्कमा आउन चाहेका छैनन् । समुन्नत नेपालकी अध्यक्ष कोपिला बस्नेतले कमलाको शीघ्र उद्धारका लागि कतैबाट पहल नभएपछि पीडितकी आमा लखी आफ्नो सम्पर्कमा आएकाे बताइन् ।

मुर्मु परिवारको छिमेकी सङ्गीता प्रसाईँ वंशलले उद्धारका लागि अनुरोध गरेर प्रहरी, प्रशासन र नेतासमक्ष धेरै धाइसक्दा कुनै परिणाम नआएको दुःखेसो पोखिन् । rss

प्रतिक्रिया