मंगलबार, असार १७, २०८२

फलिया साँघु

सुनिल उलक २०८० भदौ ३ गते ७:४९

लमजुङ जिल्लाको चिति गाउँपालिका (पहिले) नजिकै दलालमा मर्स्याङ्दी नदीमा बनेको यो सानो बाँसको फड्केलाई फलिया साँघु भन्ने गरिन्छ ।

काठका फलिया राखेर बनाइएको भएर फलिया साँघु भनिएको हो वा अन्य कारणले फलिया साँघु भनियो यो भने थाहा भएन । चिति र दलाल जोड्ने यो साँघु भएको ठाउँमा अहिले मध्यमर्स्याङ्दी जलबिद्युतको बाँध बनेपछि यहाँको भौगोलिक अवस्थामा धेरै नै परिवर्तन आइसकेको छ ।

यो फलिया साँघुमा बर्षेनी ठूलो एकादशीमा मेला लाग्ने गर्दथ्यो । हरिबोधनी एकादशीको दिन चार महिना अगाडि हरिशयनी एकादशीमा लामो चिर निद्रामा सुत्नु भएका भगवान विष्णु ब्युझिने दिनको रुपमा लिइन्छ । भगवान विष्णु हाम्रो हिन्दु परम्परामा बिशेष रुपमा पूजिने भगवानमा पर्दछ । यस दिन खोला नदीहरुमा फूल तार्ने परम्परा रहेको छ ।

बाबियाको डोरीमा बिभिन्न फूल, पञ्चपल्लव तथा सानो आकारमा बनाइएको घरायसी सामग्रीहरु डोको, नाङ्लो, कुचो तथा अन्यलाई राखी बनाइएको फुलको लट्ठालाई डोलीमा सजाएर बाजागाजा सहित खोलामा लगिन्छ । खोलाको वारपार भएसम्म रुखमा बाधिन्छ । रुख नभएमा खाँबो गाडेर भए पनि फूलको पुल बनाउने गरिन्छ ।

यहाँ तस्विरमा पनि लमजुङ दलालमा मर्स्याङ्दी नदीमा रहेको फलिया साँघुमा हरिबोधनी एकादशीको  मेला लागेको छ । मेलामा चिति गाउँका तथा चिप्लेटी गाउँका पनि दलालमा पुग्ने गर्दछन् । बाँसले बनेको सानो साँघुमा कुनै दुर्घटना नहोस भनेर पुलिसहरुले पुलमा भिड हुनबाट रोक्ने गरेको देख्न सकिन्छ ।

यस प्रकारको बाँसको फड्के पुल वर्षेनी नयाँ बनाउनु पर्दथ्यो । गाउँलेलाई समस्या भए पछि २०२४ सालको बैशाखमा केही बलियो बनाइएको थियो । बलिया काठको सत्तलहरुबाट क्यान्टिलीभर पुल बनाईएको थियो ।

२०२८ सालमा स्थानीय स्तरमा पृथ्वी राजमार्गको डुम्रेबाट बेशीशहर सम्मको सडक बनाउने प्रयास भयो । २०३४ सालमा सडक विभागले यसलराजमार्गलाई प्रारुप दिन स्वीकृति गर्यो । यो राजमार्ग फलिया साँघुको नजिकैबाट बनाइएको थियो ।

२०५७ सालमा मध्य मर्स्याङ्दी जलविद्युत आयोजनाको लागि जलाशय यसै ठाउँमा बनाउने भए पछि भने यो ठाउँको भौगोलिक अवस्थामा ठूलो परिवर्तन आयो ।

प्रतिक्रिया