मंगलबार, असार १०, २०८२

‘रौतहटके ढेलो बोलए छे !’

नेपालखोज २०८० भदौ ५ गते १५:१३

रौतहट । नेपालको राजनीतिमा रौतहट आन्दोलनका प्रसंग बेलाबखत चलिरहन्छ। हालै मात्र पनि त्यसको चर्चा चलेको छ। चर्चा चलिरहँदा र वर्तमान सरकारकोे भविष्यबारे गणितीय लुकामारी भइरहँदा मलाई ७ वर्षअघि गरुडामा भएको नेपाल कम्युनिष्ट पार्टीद्वारा आयोजित आमसभाको प्रसंग उल्लेख गर्न मनले आदेश दिएको छ।

राजतन्त्रमा राजाबाट र त्यसपछि लोकतान्त्रिक पात्र भनाउँदाबाट देशमा आदेशकै भरमा सत्ता परिवर्तनसम्मका घटना भएका छन्। नाटकको दृश्य परिवर्तन भएजस्तै स्वार्थ नामक पात्रको नाटकीयताले परिस्थितिलाई अस्थिर र कौतुक बनाएको छ।

सात वर्षअघिको आमसभामा अकस्मात् उपस्थित जनतासमक्ष ‘पशुपति को हुनुहुन्छ ?’ भनी प्रश्न गर्दा जनता एकछिन अक्क न बक्क देखिए। प्रदेशस्तरीय आमसभामा उद्घोषकले सो प्रश्न गर्दा बहुसंख्यक जनता अनुत्तरित देखिएका थिए।

सभामा तत्कालीन प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल मञ्चमा आसीन हुँदा सो प्रश्नको उत्तरका लागि केही मार्ग खुले पनि कौतुहलता कायम नै रह्यो।

ओली र प्रचण्ड रौतहटको विभिन्न स्थानमा भूमिगत भई राजनीतिको ध्येय पूरा गर्न सङ्गठन र आन्दोलन गरेका कारण यी दुईमध्ये नै कोही हुन सकिने अनुमान सञ्चारकर्मीले गरिरहेका थिए। सञ्चारकर्मीहरूले अनुमानको साटासाट गरिरहँदा पनि बहुसंख्यक जनतामा सो प्रश्नप्रतिको जिज्ञासा शान्त भएको थिएन। सोही बेलामा उद्घोषकले ‘पशुपति पातलो शरीरका थिए’ भनी अर्को जिज्ञासा र घटनाको संस्मरण सुनाए।

प्रसंग निरंकुशताविरुद्धको आन्दोलन र माओवादी जनविद्रोहसँग सम्बन्धित थियो। रौतहट जिल्लालाई निरंकुशताविरुद्धको आन्दोलनका लागि रणनीति र किसानको विद्रोहको विगुल फुक्ने श्रेय पनि प्राप्त छ। यसैकारण स्थानीयस्तरमा भनाइ छ, ‘रौतहटके ढेलो बोलए छे, आब जमिन्दारी नहिं चलतौ।’ अर्थात् रौतहटको माटोको डल्लो (ढेला) ले सधैं सामन्तवादविरुद्ध लडेको पुष्टि गर्दछ।

कथनमा निरंकुशता र सामन्तवादविरुद्धको इतिहास छ। रौतहटको बरगिनियाँमा नेपाली कांग्रेसले निरंकुशताविरुद्ध आन्दोलनको रणनीति तय र विसं २००६ सालमा किसानको विद्रोहले नेपालमा परिवर्तनको जग स्थापना गरेको बताइन्छ।

‘पशुपति को हुन् ?’ भनी प्रश्नको जिज्ञासा बढिरहेकै क्षण पूर्वप्रधानमन्त्री माधव नेपालले आमसभालाई सम्बोधन गर्दै भने, ‘४६ वर्षअघि एक युवक रौतहटको इनरवारीमा शिवधारी पटेलको घरमा भूमिगत भई आन्दोलनको विगुल फुकेका थिए।’ यति भनिरहँदा रौतहटवासीले अनुमान गरिसकेका थिए।

शिवधारी पटेल सभामै उपस्थित थिए। उच्च सुरक्षाकर्मीको घेराका कारण पटेललाई मञ्चमा पुशपतिलाई भेटी स्वागत गर्न कठिन थियो। त्यही बेलामा उद्घोषकले पटेललाई मञ्चको देब्रेपट्टि आउन आग्रह गरेपछि पटेल फूलमाला लिई मञ्चको देब्रेपट्टि उभिए । पटेल मञ्चनिर उभिरहेकै बेलामा माओवादीका अध्यक्ष प्रचण्डले सम्बोधन गर्दै यही भूमिबाट जनयुद्धलाई प्रेरणा प्राप्त भई युगान्तकारी परिवर्तन भएको स्मरण गरे । तर प्रचण्डको सम्बोधनपछि पनि ‘पशुपति को हुन् ?’ भनी प्रश्नको उत्तर जनताले पाउन सकेनन्।

अन्ततः यो प्रश्नको जिज्ञासा त्यतिखेर शान्त भयो जब पटेलले फूलमालाले तत्कालीन प्रधानमन्त्री ओलीलाई स्वागत गरे। भूमिगत कालमा रौतहटमा बस्दा उनको नाम पशुपति शर्मा थियो।

आमसभामा केपी ओलीले इनरबारीमा बास बसी राजतन्त्रविरुद्ध विगुल फुकेकै कारण कोपबाबाट पक्राउ गरिएको सुनाए। ४६ वर्षअघिका सहयोगीहरू कुलदीप राउत, गेना राउत र सीतारामको योगदानको प्रशंसासमेत उनले गरे।

सभामा पूर्वप्रधानमन्त्री नेपाल रौतहटको इतिहाससँगै त्यस क्षेत्रमा विद्यमान सामन्तवादी संरचनालाई रौतहटवासीको जनचेतनाको खुलेर वकालत गर्दै भनेका थिए, ‘यस क्षेत्रको ढेला पनि दासत्व, निरंकुशताविरुद्धको प्रतीक हो। जनतामा ढेलाले पनि मुिक्तको शंखनाद गरिहेको छ।’

ढेलाको इतिहासबारे थाहा नभए पनि २०६३ चैतको ७ गतेको भाटा प्रकरणले ढेलालाई पनि उछिनेको छ। जसले १७ वर्षअघिको घटनाबारे सोच्न बाध्य पारेको छ। २०६३ साल चैत ७ गते गौरस्थित राइस मिलको चौरमा भएको आक्रमणमा माओवादी कार्यकर्ता मारिएका थिए।

त्यसदिन मधेसी जनअधिकार फोरम र माओवादीको मधेसी मुक्ति मोर्चा फोरमले तय गरेको दिन र समयमा कार्यक्रम राख्दा कार्यकर्ताबीचको झडपमा २७ जनाको ज्यान गएको थियो। त्यतिबेलाको मानव अधिकारको आयोगको प्रतिवेदनअनुसार अपरिचित व्यक्तिलाई लखेटी–लखेटी घरेलु हतियार प्रयोग गरी हत्या गरिएको थियो। टाउकोमा भाटा प्रहार गर्दा ज्यान गएको पनि सो प्रतिवेदनमा उल्लेख छ।

घटनास्थलमा ६ जनाको शव भेटिएको थियो भने त्यसभन्दा ६÷७ किलोमिटर टाढा १२ जनाको शव एकै ठाउँमा भेटिएको थियो। अन्य लास घटनास्थल वरपर भेटिएको आयोगको प्रतिवेदनमा उल्लेख छ। कतिपयलाई जलाइएको र मारिसकेपछि मन्दिर वरपर शव घुमाई मूर्तिमा रगत चढाएको भेटिएको पनि आयोगको प्रतिवेदनमा उल्लेख छ। यस्तै आयोगले घटना पूर्वनियोजित, मनसाययुक्त र क्रूर तरिकाले गरिएको राय दिएको छ।

आयोगकै रायलाई विचार गर्ने हो भने पूर्वनियोजित र मनसाययुक्त शब्दको संकेत कतातिर हो ? फोरमको कार्यक्रम निर्धारण भइसकेको अवस्थामा तत्कालीन माओवादीका नेता प्रभु साहले चितवनबाट माओवादी कार्यकर्ता ल्याई त्यही दिन एकै समयमा कार्यक्रम गर्ने मनसाय के थियो ? यसबारे बहस हुनुपर्थ्यो। १७ वर्षसम्म बहस भएन। अहिले पुनः प्रभु साहकै चक्रव्युहमा वर्तमान सरकारका प्रधानमन्त्री र माओवादीका अध्यक्ष पुष्पकमल दाहाल फसेका छन् ।

प्रचण्ड नेतृत्वको सरकारले पीडित संघर्ष समितिसँग पाँच बुँदे सहमति गरेपछि राजनीति तरंगित भएको छ। सहमतिको पहिलो बुँदामा घटनाको तत् समयमा दर्ता भएको जाहेरीसमेतलाई छानबिन र अनुसन्धान गरी प्रमाणका आधारमा दोषीलाई कानुनी कारबाही प्रक्रिया अगाडि बढाइने उल्लेख छ। निवेदक जाहेरीमा तत्कालीन फोरमका अध्यक्ष उपेन्द्र यादवलाई मुख्य दोषी ठहर गरिएको छ।

घटनाको फाइल खोलिने चर्चाले उपेन्द्र यादव र माधव नेपालको राजनीतिक इतिहासलाई समाप्त पार्ने प्रधानमन्त्री र माओवादी अध्यक्ष प्रचण्डको षड्यन्त्र हो जस्ता चर्चाले गठबन्धनकोे सरकारबारे भविष्यवाणी शुभारम्भ भइसकेको छ।

प्रभु साहमाथि पनि एक हिन्दुवादी नेता काशीनाथ तिवारीको हत्याको आरोप छ। साह माओवादी, एमाले हुँदै आमजनता पार्टीको नेतृत्व गरिरहनुभएको छ। रौतहटको स्थिति बोध हुँदाहुँदै पनि २०६३ सालमा राइस मिलमा सभा आयोजनको परिणामबारे चिन्तन नगर्नु विडम्बनापूर्ण छ।

नाटकीय पर्दापछाडिको दृश्यमा अब सात वर्षअघिकै आमसभाका पात्रहरू १७ वर्षअघिको घटनाबारे राजनीतिक तरंग ल्याउन उद्यत देखिन्छन्। सात वर्षअघि गरुडामा सुनेको पशुपति शर्मा (केपी ओली) प्रचण्डलाई रौतहटकै ढेलारुपी अस्त्रलाई सत्ता परिवर्तनमा रुपान्तरण गर्ने अभ्यास गरेकै छन् । भित्रैभित्रै नयाँ समीकरणको अभ्यासको चर्चामा ढेलाको प्रतीकात्मक स्वरुप फेरिएको छ। ढेला भाटा स्वरुपमा देखिएको छ। यो स्वरुपले कसलाई कहाँ पुर्याउँछ ?

आगामी दिनको प्रतीक्षा गर्दै गर्दा भन्न मन लागेको छ– ‘ढेलो सँ बेसी अग्रगामी भाटा भेल जा रहल अछि।’ अर्थात् माटोको डल्लोभन्दा अधिक अग्रगामी भाटा हुँदै गएको छ।’ –INS

प्रतिक्रिया