शुक्रबार, वैशाख १२, २०८२

विश्वभर एक अर्ब मानिस जोर्नी दुख्ने समस्याबाट ग्रसित : ल्यान्सेट

नेपालखोज २०८० भदौ ९ गते ९:३६

काठमाडाैं । नयाँ अध्ययनका अनुसार सन् २०५० सम्ममा विश्वभर करिब एक अर्ब मानिस ओस्टियोआर्थराइटिस वा जोर्नी दुख्ने समस्याबाट पीडित हुने अनुमान गरिएको छ । ओस्टियोआर्थराइटीस रोगले मानव शरीरको जोर्नीहरूमा नराम्रो प्रभाव पार्छ । द ल्यान्सेट रुमाटोलोजी जर्नलमा प्रकाशित अध्ययनअनुसार हाल विश्वका ३० वर्ष वा सोभन्दा बढी उमेरका १५ प्रतिशत ओस्टियोआर्थराइटीसबाट पीडित छन् । अध्ययनले २०० भन्दा बढी देशबाट ३० वर्षको ओस्टियोआर्थराइटिस सम्बन्धि डाटा विश्लेषण गर्यो ।

२०२० मा ५९५ मिलियन मानिस ओस्टियोआर्थराइटीससँग जुधिरहेका थिए जुन १९९० को २५६ मिलियन मानिसको तुलनामा १३२ प्रतिशत बढि हो । यो अध्ययन इन्स्टिच्युट फर हेल्थ मेट्रिक्स एण्ड इभ्यालुएसन (IHME), वाशिंगटन, संयुक्त राज्य अमेरिकाले गरेको हो । अध्ययनले ओस्टियोआर्थराइटीसमा यस्तो तीव्र वृद्धि देखिनुमा मुख्यतया उमेर, जनसंख्या वृद्धि तथा मोटोपनलाई जिम्मेवार मानेको छ ।

आईएचएमई (IHME ) का अनुसन्धानकर्ताहरूका अनुसार विश्वको जनसंख्यामा बढ्दो दीर्घायु तथा बढ्दो जनसंख्याका साथ अब हामीले अधिकांश देशको स्वास्थ्य प्रणालीमा विद्यमान तनावको पूर्वानुमान गर्न आवश्यक छ । यो अध्ययन परिणाम अनुसार मोटोपन वा उच्च बडी मास इन्डेक्स (BMI) ओस्टियोआर्थराइटिसका लागि एक प्रमुख जोखिम हो र संसारमा मोटोपन समयसँगै बढ्दै गएको छ ।

सन् १९९० को अध्ययनमा ओस्टियोआर्थराइटीसका कारण १६ प्रतिशतमा अपाङ्गता देखिएको थियो जसका लागि मोटोपन जिम्मेवार थियो । २०२० मा यो बढेर २० प्रतिशत पुगेको छ । यदि मोटोपनलाई प्रभावकारी रूपमा सम्बोधन गरियो भने ओस्टियोआर्थराइटिसको विश्वव्यापी बोझ अनुमानित २० प्रतिशतले घटाउन सकिन्छ – अध्ययनले भनेको छ ।

ओस्टियोआर्थराइटीसले सामान्यतया घुँडा र कम्मरलाई असर गर्छ र यसले २०५० सम्ममा सबैभन्दा धेरै मानिसहरूलाई असर गर्ने अध्ययनले देखाएको छ । अध्ययनका अनुसार पुरुषको तुलनामा महिलामा ओस्टियोआर्थराइटीस हुने सम्भावना बढी हुन्छ । २०२० मा ६१ प्रतिशत ओस्टियोआर्थराइटीस महिलाहरूमा फेला परेको थियो जबकि ३९ प्रतिशत केस पुरुषका थिए । यो लैगिंक भिन्नताका पछाडि मिश्रित कारणहरू छन् ।

ओस्टियोआर्थराइटीसको प्रचलनमा लैगिंक भिन्नताको थप कारण जान्न अनुसन्धानहरु भैरहेका छन् । अनुसन्धानकर्ताहरूले आनुवंशिकी, हार्मोनल कारकहरू तथा शारीरिक भिन्नताले यसमा प्रमुख भूमिका खेल्ने विश्वास बताएका छन् हाल ओस्टियोआर्थराइटिसका लागि कुनै प्रभावकारी उपचार नभए पनि न्यून र मध्यम आय भएका देशहरूमा महँगो, प्रभावकारी उपचारलाई अझ सस्तो बनाउनेलगायत रोकथाम र प्रारम्भिक रिकभरी रणनीतिहरूमा काम गर्न आवश्यक छ – अनुसन्धानकर्ताहरूले भनेका छन् ।

स्वास्थ्य सेवा प्रणाली तथा सरकारहरूले गरिबीमा बाँचिरहेका जनसंख्याको पहिचान गर्न, मोटोपनका कारणहरूलाई सम्बोधन गर्न अनि ओस्टियोआर्थराइटिसको बढ्दो घटनालाई रोक्न वा सुस्त बनाउन व्यवस्थापन रणनीतिहरू विकास गर्न थप काम गर्नुपर्छ भन्ने अनुसन्धानकर्ताहरूको राय छ ।

प्रतिक्रिया