मंगलबार, असार १७, २०८२

इजरेलसँगको सम्पर्कपछि लिबियामा विरोध प्रदर्शन

नेपालखोज २०८० भदौ ११ गते १८:०३

काठमाडौं । लिबियाका प्रधानमन्त्रीले इजरेली विदेशमन्त्रीसँग अनौपचारिक रूपमा भेट गरेको भन्दै आफ्नो देशकी विदेशमन्त्रीलाई निलम्बन गरेका छन्।

प्यालेष्टिनी मुद्दाहरूको ठूलो समर्थक रहँदै आएको लिबियाले इजरेलको अस्तित्वलाई मान्यता दिँदैन र दुई विदेशमन्त्रीबीच भेट भएको भन्ने समाचार विवरण सार्वजनिक भएपछि उक्त अरब बाहुल्य देशमा विभिन्न विरोध प्रदर्शनहरू चर्किएका छन्।

इजरेलका विदेशमन्त्री एली कोहेनले भने आफ्नी लिबियाली समकक्षी नाज्ला अल माङ्गुशसँगको भेट आपसी सम्बन्ध स्थापनाका लागि ऐतिहासिक पहिलो कदम भएको बताएका छन्।

इजरेल हाल औपचारिक रूपमा आफ्नो अस्तित्वलाई मान्यता नदिएका अरब तथा मुस्लिम बाहुल्य देशहरूसँग निकट सम्बन्ध बनाउन प्रयासरत छ। त्यसमध्ये खनिज तेलमा सम्पन्न लिबिया पनि एक हो।

तर लिबियाका तीन प्रदेशहरूको प्रतिनिधित्व गर्ने राष्ट्रपतीय परिषद्ले इजरेलसँगको सम्बन्ध सामान्य बनाउनु अवैधानिक हुने बताएको छ।

लिबियाको संसद्‍का सभामुखको कार्यालयले अल माङ्गुशलाई ‘महाराज्यद्रोह’को आरोप लगाएको छ भने प्रधानमन्त्री अब्दुल हमिद डिबेबाले उनीविरुद्ध अनुसन्धान गर्न सिफारिस गरेका छन्।

प्रतिक्रिया