सुधारगृहमा क्षमताभन्दा बढी बालक
खबाँके । बाँकेको डुडुवा गाउँपालिका –६ स्थित बालसुधारगृहमा क्षमताभन्दा बढी बालकलाई राखिएको छ । गृहमा ७० जना बस्ने क्षमता भए पनि अहिले एक सय बालकलाई राखिएको बालसुधारगृहका प्रमुख विमला काउचा मगरले जानकारी दिए ।
गृहमा अदालतबाट फैसला सुनाइएका ३९ र नभएका ६१ बालक छन् । गृहमा सबैभन्दा बढी जबर्जस्ती करणी आरोप लागेका बालक छन् । क्षमताभन्दा बढी भएका कारण गर्मी र कोरोना महामारीका अवस्थामा पनि कोचाकोचका अवस्थामा बालक तथा किशोर बस्न बाध्य छन् ।
गृहको अवस्था बुझ्न बुधबार निरीक्षणमा पुगेका उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासका न्यायाधीश हेमराज पन्तले क्षमता घटाउनेतर्फ आवश्यक पहल गर्न निर्देशन दिए ।
न्यायाधीश पन्तले कम उमेर र बढी उमेर समूहका बालकलाई छुट्टाछुटै राख्ने प्रबन्ध मिलाउन, गृहमा आवश्यक सरसफाइ र स्प्रेको व्यवस्था गर्न र स्वच्छ खानेपानीको उचित प्रबन्ध मिलाउन निर्देशन दिएको जिल्ला अदालत बालन्याय समन्वय समितिका सदस्य अधिवक्ता वसन्त गौतमले जानकारी दिए।
गृहमा रहेका बालकमा छाला रोगको समस्या देखिएपछि एक हप्ताअघि मात्र स्वास्थ्य शिविर गरी ७० जनालाई सेवा दिइएको डुडुवा गाउँपालिका –६ का वडाध्यक्ष मोहन मिश्रले बताए ।
सुधारगृहमा रहेका अधिकांश बालकमा दाद, लुतोलगायत समस्या थियो । भेरी अस्पताल नेपालगञ्जका वरिष्ठ छाला रोग विशेषज्ञ डा बद्री चापागाईँले बालकहरुको जाँच गरेका थिए ।
प्रतिक्रिया