बुधबार, असार १८, २०८२

पर्यावरण : विषाक्त कीटनाशकले पृथ्वीलाई नष्ट गर्दै

नेपालखोज २०८० भदौ २३ गते ६:४४

खेतीमा विषादीको प्रयोग धेरै नै हुन थालेको छ । विषाक्त रसायनले भरिएका यी कीटनाशकहरूले हाम्रो खाना, स्वास्थ्य, हावा र पानीमा गम्भीर असर पारिरहेका छन् । विश्वमा हरेक वर्ष कीटनाशक विषाक्तताका ३८ करोडभन्दा बढी घटना हुन्छन् । जसमध्ये एसिया शीर्ष स्थानमा छ । त्यसपछि अफ्रिका र दक्षिण अमेरिकाको नाम आउँछ। विषादी प्रयोग गर्ने अधिकांश किसान वा मजदुरले छर्कने क्रममा सुरक्षात्मक कपडा र मास्क पनि लगाउँदैनन् ।

गम्भीर रोगहरू

चिचिगाल्पा, निकारागुआका धेरै जसो पुरुषलाई मृगौलाको गम्भीर रोग छ । यसको कारण उखुबारीमा छर्किइने विषादी हो । विश्वभर पिउने पानी र खाद्य श्रृंखलाहरूमा कीटनाशकहरू फेला पर्नु सामान्य भएको छ । यी विषादीका कारण क्यान्सर लगायतका धेरै रोग फैलिने अनुसन्धानहरुले प्रमाणित गरेका छन् ।

जैविक विविधता खतरामा

कीटनाशक र अन्य रसायनहरू कीरा तथा झारपात मार्न भन्दै अनावश्यक छर्किइन्छ । यद्यपि त्यस क्षेत्रका सबै कीरा र बिरुवाहरू यसको शिकार हुन्छन् । माहुरी र चराचुरुङ्गीमा पनि विषादीको नराम्रो असर देखिएको छ । यो क्रम लामो समयसम्म कायम रहने हो भने त्यस क्षेत्रबाट धेरै प्रजातिका कीरा र बोटबिरुवाहरू लोप हुनेछन् ।

एउटा महत्त्वपूर्ण अनुसन्धानका क्रममा वैज्ञानिकहरूले केराको फूलको रस चुस्ने चमेरोको आन्द्रामा राम्रो ब्याक्टेरिया घटेको कुरा पनि पत्ता लगाएका छन् । यसको विपरित आहारका लागि वनमा निर्भर चमेरोको आन्द्रामा त्यस्ता सूक्ष्मजीवहरूको संख्या उल्लेख्य थियो । राम्रो ब्याक्टेरियाले मानिस र जनावरहरूको स्वास्थ्यमा महत्त्वपूर्ण भूमिका खेल्छ।

खतरनाक विषादी निकासीमा प्रतिबन्ध ?

दक्षिण एसियाली खेतमा काम गर्ने मानिसहरू घातक रसायनहरूबाट सुरक्षाको मामिलामा युरोपको तुलनामा निकै पछाडि छन् । युरोपमा केही अत्यधिक विषाक्त विषादीको प्रयोगमा प्रतिबन्ध छ, तर युरोपेली उत्पादक बायर र बीएएसएफलाई त्यस्ता विषाक्त रसायनहरू निर्यात गर्न भने अनुमति दिइएको छ ।

रासायनिक विषादीको अन्धाधुन्ध प्रयोगलाई रोक्न अहिले धेरै देशमा जैविक खेतीलाई प्रवर्द्धन गरिएको छ। यस सयौं वर्ष पुरानो खेती विधिमा कीरा, चराचुरुङ्गी र जनावरहरूले स्वस्थ पारिस्थितिकी प्रणाली कायम राख्न मिलेर काम गर्छन्। नेपाल र भारतमा गाईको गोबर, मुत्र र नीमको प्रयोग किटनासकका रुपमा गर्ने चलन शताब्दीयौं पुरानो हो ।

प्रतिक्रिया