मंगलबार, असार १७, २०८२

थाईल्यान्डलाई हराउँदै युएईले जित्यो उपाधि

नेपालखोज २०८० भदौ २३ गते १०:३२

एजेन्सी । युएईले आइसिसी महिला टि२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनलमा थाईल्यान्डलाई ६ रनले हराउँदै उपाधि जितेको छ । विजेता युएई र उपविजेता थाईल्यान्ड आगमी वर्ष हुने ग्लोबल टि२० विश्वकप छनोट खेल्न पाउनेछन् ।

जितको लागि ७१ रनको सामान्य विजयी लक्ष्य पछ्याएको थाईल्यान्ड १७.५ ओभरमा ६४ रनमा अल आउट भयो । थाईल्यान्डको लागि नट्थाकन चान्थमले २७ बलमा २ चौकासहित सर्वाधिक २२ रन बनाइन् ।

नान्नापाट खोंचारोएनकाइले १६ बलमा १ चौकासहित १२ रनमा आउट भइन् । २०२० मा विश्वकप खेलि सकेको थाईल्यान्डका ९ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । युएईकी काविषा कुमारी एगोडागेले २.५ ओभरमा ७ रन खर्चेर ३ विकेट लिइन् । त्यस्तै वैष्णव महेशले ४ ओभरमा १९ रन खर्चेर ३ विकेट लिइन् ।

त्यसअघि बायोमास ओभलमा टस जितेर पहिला ब्याटिङ रोजेको युएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ७० रन बनायो । युएईकी थीर्थ सतिशले ३३ बलमा ३ चौकासहित सर्वाधिक २३ रन बनाइन् । त्यस्तै कप्तान चया मुघल ६, इशा ओझा २, रिनिथा रजिथा १० रनमा आउट भइन् ।

थाईल्यान्डकी ओनिचा खम्चोम्पुले ४ ओभरमा २ मेडनसहित ६ रन खर्चेर ३ विकेट लिइन् । नट्य बुचथमले ४ ओभरमा ११ रन खर्चेर २ विकेट लिइन् । नेपाल भने सेमिफाइनलमा थाईल्यान्डसँग ४६ रनले पराजित हुँदै बाहिरिएको थियो । समूह चरणमा युएईसँगको खेल वर्षाको कारण रद्द हुँदा नेपाल समूह उपविजेता बनेको थियो ।

प्रतिक्रिया