बुधबार, असार ११, २०८२

राजनीतिमा ‘सुवास’ छरेर अस्ताए नेम्वाङ

नेपालखोज २०८० भदौ २६ गते ७:५८

फिक्कल । इलाम क्षेत्र नं २ का सङ्घीय सांसद सुवासचन्द्र नेम्वाङको अप्रत्यासित निधनले इलाम शोकमग्न भएको छ । उहाँ विसं २०५६ देखि इलामबाट लगातार संसदीय चुनाव जितेर सांसद रहँदै आएका थिए । उनी हाल नेकपा (एमाले) संसदीय दलको उपनेतासमेत थिए ।

राष्ट्रिय राजनीतिमा सहमति, सहकार्य र एकताका सुत्रधार एवं इमान्दार छवि बनाउनुभएका नेम्वाङ जिल्लाबासीका लागि ‘राजनीतिक मियो’ थिए । इलामबजार नजिकै सुन्तलाबारमा जन्मिनुभएका नेम्वाङ इलाम क्याम्पसमा पढ्दा अनेरास्ववियुमा लागेर २०२९ सालमा कम्युनिष्ट राजनीतिमा होमिएका थिए ।

विसं २०३३ मा राजद्रोह मुद्दामा उनी केही समय जेल परे । विसं २०४८ र २०५२ मा राष्ट्रियसभाको सदस्य भएका उनी मनमोहन अधिकारी नेतृत्वको पहिलो कम्युनिष्ट सरकारमा कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री बनेका थिए ।

विसं २०५६ को संसदीय निर्वाचन जितेर उनी सार्वजनिक लेखा समिति सभापति बनेका थिए । उनी जनआन्दोलन विसं २०६२÷६३ सँगै पुनःस्थापित संसद्का सभामुख भएको थियो । विसं २०६४ र २०७० मा पनि इलामबाट चुनाव जितेर संविधानसभाको अध्यक्ष भएको थियो ।

संविधानसभाबाट नेपालको संविधान जारी गर्न उहाँले समन्वयकारी भूमिका निर्वाह गरेका थिए । उनी चारपटक सभामुख हुँदा उनी सधैँ सर्वसम्मत नै बने ।

नेम्वाङको अवसानले इलाम शोकमग्न

नेम्वाङको निधन भएको खबर पाएसँगै जिल्ला तहका विभिन्न राजनीतिक दल, नेता, सामाजिक अभियान्ता, विद्यार्थीलगायतले दुःख व्यक्त गरिरहेका छन् । नेम्वाङको निधनबाट देशले अपूरणीय क्षति व्यहोर्नुपरेको अधिकांशको भनाइ छ । इलाम क्षेत्र नं १ का सांसद महेश बस्नेतले इलामको मियो ढलेको बताए । उनले देश र जनताका लागि पु¥याएको योगदान अतुलनीय हुने जनाउँदै देशले नै शोक मनाइरहेको बताए ।

गत आमनिर्वाचनमा नेम्वाङसँग थोरै मतान्तरले पराजित भएका नेपाली कांग्रेस इलामका सभापति डम्बर खड्काले उनलाई इलामले सधैँ सम्झिरहने बताए ।

प्रतिक्रिया