मंगलबार, वैशाख १८, २०८१

भिटामिन ‘ए’ खुवाउन थालियाे

नेपालखोज २०७७ असार २३ गते ११:१८

काठमाडौं । कोभिड– १९ का कारणले रोकिएको ‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रम सोमबार र मंगलबार देशभरि एकैसाथ सञ्चालन गरिएको छ । सरकारले प्रत्येक वर्ष पहिलो चरण कात्तिक २ र ३ गते तथा दोस्रो चरण वैशाख ६ र ७ गते गरी दुई पटक राष्ट्रिय भिटामिन ए कार्यक्रम सञ्चालन गर्दै आइरहेको थियो । कोभिड–१९ का कारणले लकडाउनले गर्दा वैशाख ६ र ७ गते हुने कार्यक्रम स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चैत २१ गते रोकेको थियो ।
बालबालिकाहलाई रतन्धो र कुपोषण हुनबाट जोगाउन भिटामिनको सेवन अनिवार्य हुन्छ । भिटामिनको सेवन सबै बालबालिकाले गर्न सकुन् भन्ने लक्ष्यका साथ स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग, पोषण शाखाले प्रत्येक वर्ष वैशाख र कात्तिक महिनामा भिटामिन सेवनको कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
यसै कार्यक्रमअन्तर्गत ६ महिनादेखि ५ वर्ष उमेरमुनीका बालबालिकालाई असार २२ र २३ गते देशव्यापी रुपमा भिटामिन ‘ए’ को औषधि खुवाइयो । ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ र एक वर्षदेखि पाँच वर्ष मुनिका बालबालिकालाई जुकाको औषधि खुवाइन्छ ।
अभियानअन्तर्गत काठमाडौं महानगरपालिका कार्यालयले स्थानीय स्तरमा गई महानगर क्षेत्रभित्रका विभिन्न स्थानमा बुथ खडा गरी स्वास्थ्य स्वयंसेविकामार्फत् ‘भिटामिन ए’ को औषधि खुवाइएको छ ।
बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि २०५३ सालबाट सरकारले निःशुल्क भिटामिन ‘ए’ खुवाउँदै आइरहेको छ । यस्तै, जुकाको औषधि २०५८ सालदेखि प्रत्येक वर्ष दुईपटक बालबालिकालाई खुवाउने गरिन्छ ।

प्रतिक्रिया