भीम पराजुलीले मागे सभापति देउवासंग मुख्यमन्त्री

विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश सांसद भीम पराजुलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर आफूलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउन माग गरेका छन् । बुधबार देउवालाई भेटेर पराजुलीले आफूलाई मुख्यमन्त्री बनाउन माग गरेका हुन् ।
नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाको दुई पटकको नियुक्त सर्वाेच्च अदालतले बदर गरिदिएको थियो । त्यसपछि मुख्यमन्त्री बनेका नेकपा एमालेका हिक्मत कुमार कार्कीले पनि विश्वासको मत पाउने स्थिति नभएपछि पदबाट राजीनामा दिएका छन् ।
थापा दुई–दुईपटक मुख्यमन्त्री पदबाट हट्नु परेपछि संसदीय दलको नेतामा उनको विकल्प खोज्नुपर्ने आवाज पार्टीभित्र उठेको छ । संस्थापन र इतर समूहले दलको नेताको विकल्पका बारेमा छलफल गरिरहेका बेला पराजुलीले भेटेर आफूलाई मुख्यमन्त्री बनाउन आग्रह गरेका हुन् ।
सभापति देउवालाई भेटेपछि पराजुलीले संसदीय दलको नेताको विकल्प खोज्नु परे दलको तर्फबाट आफूलाई उम्मेदवार बनाउन आग्रह गरेको बताए । दलका नेता थापा र सांसद पराजुली दुवै कृष्णप्रसाद सिटौला पक्षका हुन् ।
प्रतिक्रिया