शुक्रबार, असार १३, २०८२

केदार कार्की : नेविसंघ एकाइ सभापतिदेखि मुख्यमन्त्रीसम्म

नेपालखोज २०८० असोज २७ गते २१:३१

विराटनगर । केदार कार्की कोशी प्रदेशको छैटौँ मुख्यमन्त्रीमा आज नियुक्त भएका छन् । पिता प्रेमबहादुर कार्की र आमा ईश्वरी कार्कीको कोखबाट २०३० साल पुस ७ गते जन्मनुभएका कार्की विद्यार्थीकालदेखि नै राजनीतिमा होमिएका हुन् ।

मोरङको बुढीगङ्गा गाउँपालिका वडा नं २ निवासी मुख्यमन्त्री कार्की सानैदेखि विद्रोही स्वभावका थिए । विद्यार्थी राजनीतिबाट नेपाली कांग्रेसको राजनीतिमा सक्रिय उनी सहयोगी एवं उपकारी स्वभावका छन् । सुनसरीको जनता उच्च माध्यमिक विद्यालय मधेसामा अध्ययन गरेका उनी २०४४ सालमा नेपाल विद्यार्थी सङ्घको एकाइ सभापति भएका थिए ।

उनले उच्च शिक्षा भने विराटनगरको महेन्द्र मोरङ क्याम्पसबाट पूरा गरे । विसं २०५२ सालमा नेविसङ्घको क्याम्पस एकाइ सभापति भएका उनी त्यसपछि नेविसङ्घकै क्षेत्रीय सभापति हुँदै २०५९ सालमा जिल्ला सभापति र २०६३ सालमा केन्द्रीय सदस्यको भूमिकामा रहे । उनी हाल नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि छन् । विसं २०७४ सालको आमनिर्वाचनमा मोरङ निर्वाचन क्षेत्र नं ६ ‘२’ बाट निर्वाचित कार्की २०७९ साल मङ्सिर ४ गतेको आमनिर्वाचनमा पुनः सोही क्षेत्रबाट कोशी प्रदेश सदस्यमा निर्वाचित भए ।

उनीले पहिलो कार्यकालमा कोशी प्रदेशसभामा नेपाली कांग्रेसको संसदीय दलको प्रमुख सचेतकको भूमिका निर्वाह गरेका थिए । उनले २०७८ भदौदेखि २०७९ पुससम्म कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुनमन्त्रीका रूपमा जिम्मेवारी सम्हाले । मन्त्रीका रुपमा उहाँले मन्त्रालयलाई बेरुजु मुक्त बनाउनेदेखि सङ्घीयतालाई संस्थागत गर्ने काममा खटिएका थियो । स्नातकोत्तर तहसम्मको शिक्षा हासिल गर्नुभएका कार्कीका पत्नी, दुई छोरा छन् । रासस

प्रतिक्रिया