उपप्रधानमन्त्री श्रेष्ठ छेन्दुमा

छेन्दु (चीन) । जनवादी गणतन्त्र चीनको भ्रमणमा रहेका उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ सिचुवान प्रान्तको छेन्दु आइपुगेका छन् ।
छेन्दुस्थित थियान्फु अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई सिचुवान प्रान्तीय पर्यावरण तथा वातावरण विभागका महानिर्देशक वाइयू वियान र नेपाली महावाणिज्य दूतावासका निमित्त महावाणिज्यदूत मनहरि दङ्गालले स्वागत गरे ।
उपप्रधानमन्त्री श्रेष्ठ चीनका सार्वजनिक सुरक्षा र आपतकालीनमन्त्री एवं चिनियाँ कम्युनिष्ट पार्टीका सचिव वाङ सियाओहङको मैत्रीपूर्ण निमन्त्रणामा चीन भ्रमणमा आएका हुन् । उनी छेन्दुस्थित थियान्फू अन्तर्राष्ट्रिय विमानस्थलबाट केहीबेरमा चीनको बेइजिङ प्रस्थान गर्नेछन् ।
भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठ चीनको बेइजिङमा आयोजना हुने ‘तेस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बिआरएफ)’ मा सहभागी हुनेछन् ।
उनले यही असोज ३० र आगामी कात्तिक १ गते आयोजना हुने ‘हरित विकाससम्बन्धी उच्चस्तरीय मञ्च’को नीति र प्रगतिबारेको छलफलमा मुख्यवक्ताका रुपमा सम्बोधन गर्ने कार्यतालिका छ ।
भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठ र चीनको सार्वजनिक सुरक्षामन्त्री वाङका बीचमा द्विपक्षीय सहयोग र सम्बन्धबारे छलफल हुने गृह मन्त्रालयले जनाएको छ ।
वाङ चिनियाँ कम्युनिष्ट पार्टीका सचिव तथा स्टेट काउन्सिलर हुन् । भ्रमणका सिलसिलामा उनी चिनियाँ राष्ट्रपति सि चीनफिङले आयोजना गर्नुहुने रात्रिभोजमा सहभागी हुनेछन् ।
प्रतिक्रिया