शनिबार, असार १४, २०८२

‘संस्कृतिको संरक्षण गरौँ’

नेपालखोज २०८० कार्तिक २८ गते १९:०४

धुलिखेल (काभ्रेपलाञ्चोक) । बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री तीर्थबहादुर लामाले मुलुकमा बसोबास गर्ने सबै नेपालीको संस्कार र संस्कृतिको संरक्षण गरेर मात्रै मुलुकको समृद्धि हुने बताएका छन् ।

काभ्रेपलाञ्चोकको पनौतीमा रहेको पनौती नेपाल र पनौती नेपाल महिला समूहको संयुक्त आयोजनामा आज भएको नेपाल संवत् ११४४ को अवसरमा आयोजित ‘भिन्तुना पनौती सम्पदा र्याली’ कार्यक्रममा बोल्दै उनले पहिचानको रक्षाका लागि पनि यसको आवश्यकता रहेको बताएका हुन् ।

काभ्रेपलाञ्चोकको पनौतीमा आयोजना गरेको भिन्तुना सम्पदा सांस्कृतिक र्यालीले मुलुकको एकता र सद्भावको विकासमा टेवा पुग्ने उनले बताए । ‘सम्पदा र संस्कृतिलाई युगौँयुगसम्म बचाइराख्नका लागि सबैको हातेमालो, साथ र सहयोग आवश्यक छ’, उनले भने, ‘पुस्तौँदेखि जोगाएर ल्याएको पहिचानलाई युवाले संरक्षण गर्ने काममा अग्रसरता लिन आवश्यक छ ।’

सो क्रममा उनले बागमती प्रदेश सरकारले सरकारी कामकाजी भाषामा नेवार र तामाङ भाषालाई लागू गर्ने निर्णयसँगै कार्यान्वनयमा ल्याइसकेको अवस्थामा सङ्घीय सरकारको मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल संवत्लाई राष्ट्रिय संवत्को मान्यता दिएर कार्यान्वयनमा ल्याउन गरेको निर्णयले थप बल पुगेको बताए ।

पनौती नगरपालिका प्रमुख रामशरण भण्डारीले नगरभित्र रहेका कला, संस्कृति, सम्पदा र सभ्यताबाट विकास भई यहाँसम्म आइपुग्न सफल भएकामा त्यसको संरक्षण र विकास गर्नु स्थानीय सरकारको कर्तव्य भएको बताए । सबै सभ्यताको विकास, संरक्षण र पहिचान जोगाउन सकेमा मात्रै स्वाभिमानको लडाइँ साथर्क हुने उनको भनाइ थियो ।

विश्व सम्पदा सूचीमा सूचीकृत हुने चरणमा रहेको पनौतीलाई यहाँका सबै किसिमको कला, संस्कृति र भाषाको संरक्षणको स्वामित्व ग्रहण गर्न सबैलाई एकताबद्ध भएर लाग्न नगरप्रमुख भण्डारीले आग्रह गरे ।

पनौती नगरपालिका वडा नं ७ का वडाध्यक्ष सविन ताम्राकारले सम्पदा भिन्तुना र्यालीले पनौतीको सम्पदा संरक्षण र कला संस्कृतिको जगेर्ना गर्न बल पुग्ने बताए ।

पनौती नेपाल संस्थाका अध्यक्ष निवास श्रेष्ठले सबै जाति, भाषा र धर्म मिलेर नै हाम्रो समुदाय बनेको बताए । पनौती नगरपालिका वडा नं ७ पुरानो बजारस्थित पमाडी टोलबाट विभिन्न झाँकीसहित सुरु भएको र्याली नगरको विभिन्न क्षेत्र परिक्रमा गरी पुनः त्यही ठाउँमा पुगेर समापन भएको थियो ।

यस्तै आज नै नेपाल संवत्को अवसर पारेर काभ्रेपलाञ्चोकको बनेपामा रहेको कोबहाल दाफा भजन खलः, वाँख्य ज्ञानमाला भजन खलः, रञ्जितकार समाज बनेपा, कोसा दाफा भजन खलः र काँठु गणेश महिला समूहलगायतको संयुक्त आयोजनामा नेपाल संवत् ११४४ को अवसरमा भिन्तुना र्याली आयोजना गरिएको छ ।

प्रतिक्रिया