गरिबी घट्दा दिगो विकास लक्ष्य हासिल हुने

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गरिबी निवारणमा सबै मिलेर काम गरेको अवस्थामा दिगो विकासका लक्ष्य हासिल गर्न मद्दत मिल्ने विश्वास व्यक्त गरेका छन् । चीनले अघि सारेको ‘बेल्ट एण्ड रोड कोअपरेसन फर डेभलपमेण्ट इन साउथ एसिया’ले आज यहाँ आयोजना गरेको कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले विद्यमान गरिबी घटाउनसकेमा दिगो विकासका लक्ष्य हासिल गर्न मद्दत पुग्ने बताए ।
एक असल छिमेकीका रुपमा आफ्ना सफल अभ्यासलाई नेपालजलगायत दक्षिण एसियाली मुलुकमा प्रयोग गर्न प्रोत्साहन गर्ने चीन सरकारको अग्रसरताको अध्यक्ष तिमिल्सिानाले प्रशंसा गरे । उनले यसबाट दक्षिण एसियाली मुलुकको आर्थिक विकास र जनताको जीवनयापनमा सुधार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । नेपाललगायत दक्षिण एसियाली मुलुकले चीनका सफल अनुभवबाट शिक्षा लिएर असल अभ्यासलाई आत्मसात गरेर अगाडि बढ्न सके गरिबी निवारणमा महत्वपूर्ण सफलता प्राप्त गर्न सकिने अध्यक्ष तिमिल्सिनाले बताए ।
‘चीन–दक्षिण एशिया गरिबी न्यूनीकरण तथा विकास सहयोग मञ्च’ विषयक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सङले चीनले आफ्नो आधुनिकीकरणको विश्वव्यापी महत्वका साथ गरिबी निवारणसम्बन्धी अन्तर्राष्ट्रिय सहयोगलाई सक्रियतापूर्वक सञ्चालन गरिरहेको बताए । चीन–नेपाल सम्बन्धका विविध आयामबारे चर्चा गर्दै चिनियाँ राजदूतले प्रधानमन्त्री पुष्पकमल ‘प्रचण्ड’को चीन भ्रमणको क्रममा दुई देशबीच गरिबी घटाउन सहयोग आदानप्रदान र जनताको जीविकोपार्जनमा सुधार गर्न तथा ग्रामीण क्षेत्रको पुनरुत्थानमा ध्यान केन्द्रित गर्न सहमति भएको उल्लेख गरे ।
प्रतिक्रिया