दुईवटा छुट्टाछुट्टै समूहको महाअभियान प्रदर्शन आज, ट्राफिक प्रहरी भन्छ- अत्यावश्यक काममा मात्र सवारी चलाउनू
काठमाडौं । काठमाडौंका दुई स्थानमा आज दुईवटा छुट्टाछुट्टै समूहले कार्यक्रम गर्दै छन् । नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपाल र दुर्गा प्रसाईंको नेतृत्वमा रहेको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालले आज छुट्टाछुट्टै कार्यक्रम गर्न लागेका हुन् ।
युवा संघको नेतृत्वमा काठमाडौंको तीनकुनेमा प्रदर्शन हुँदै छ भने दुर्गा प्रसाईंको नेतृत्वमा काठमाडौंको बल्खुमा प्रदर्शन हुँदै छ । माइतीघर मण्डलादेखि नयाँबानेश्वरलगायत स्थानमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रदर्शन गर्न लोक लगाएपछि तीनकुने र बल्खुमा प्रदर्शन हुन लागेको हो ।
यसैबीच ट्राफिक प्रहरीले बिहीबार काठमाडौं उपत्यकामा अत्यावश्यक काममा बाहेक सवारी साधनको प्रयोग नगर्न सर्वसाधारणसँग आग्रह गरेको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज उपत्यकाका विभिन्न स्थानमा बिहीबार विभिन्न समूहले र्याली जुलुसका साथै विरोध प्रदर्शन गर्ने भएकाले सवारी आवागमनमा असहजता हुने सम्भावना भएकाले गाढी नचलाउन आग्रह गरेको हो ।
ट्राफिक प्रहरीले सडकमा सवारी साधन लिएर निस्कनुअघि १०० वा १०३ मा टेलिफोन गर्न तथा ट्राफिक एफएम ९५.५ मेगाहर्ज सुन्दै सडकको अवस्थाबारे जानकारी लिनसमेत आग्रह गरेको छ ।
ट्राफिक प्रहरीले चालक तथा यात्रुको सुरक्षाका लागि सवारीसाधन जुनसुकै स्थानबाट पनि मार्गपरिवर्तन गराउनसक्ने भएकाले आवश्यक सहयोग गर्नसमेत सबैलाई अनुरोध गरेको छ ।
प्रतिक्रिया