नेपालमा कोरोनाबाट थप २ जनाको मृत्यु, कुल संख्या ४२
काठमाडौँ । नेपालमा कोरोना संक्रमण भएका थप दुईजनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले धनुषाका ६० वर्षीय पुरुष र चिनियाँ नागरिक ४९ वर्षीया महिलाको मृत्यु भएको बताए ।
जनकपुर उपमहानगरपालिका बस्ने पुरुषलाई खोकी, उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि २ साउनमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएको थियो ।
भेन्टिलेरटरमा राखेर सघन उपचारकै क्रममा मंगलबार उनको निधन भएको गौतमले बताए । त्यसैगरी पोखरामा काम गरेर बस्ने चिनियाँ नागरिक बिरामी भई मणिपाल अस्पताल भर्ना गरिएकोमा उनको अवस्था जटिल भएपछि २ साउनमा हेलिकोप्टरमा ग्रान्डी अस्पताल काठमाडौंमा ल्याएर उपचार गरिएको थियो ।
कोरोना संक्रमण पुष्टि भएपछि त्रिवि शिक्षण अस्पतालमा उपचारकै क्रममा बुधबार उनको निधन भएको गौतमले जानकारी दिए । थप दुई जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४२ पुगेको छ ।
प्रतिक्रिया