राम्रो संविधान बनाउँदा बहुमत ल्याउन सक्ने अवस्था भएन : सभापति देउवा

त्रिशूली(नुवाकोट) । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको संविधानअनुसार कुनै एक दलले बहुमत ल्याउन सक्ने अवस्था नभएका कारण एकभन्दा बढी दल मिलेर सरकार बनाउन बाध्य भएको बताएका छन् ।
नेपाली कांग्रेस नुवाकोटको ‘प्रथम जिल्ला सम्मेलन’लाई आज विदुरमा सम्बोधन गर्दै सभापति देउवाले समावेशी र समानुपातिक निर्वाचन प्रणालीलाई सुनिश्चित गराई ‘राम्रो संविधान’ बनाएको कारण राजनीतिक दलले बहुमत ल्याउन सक्ने अवस्था नभएको बताए ।
‘अहिलेको संविधानमा आदिवासी जनजाति, महिला तथा दलितलगायत पछिपरेका समुदायको प्रतिनिधित्व अनिवार्य गराई संविधान राम्रो बनायौँ । तर, कुनै एक दलले बहुमत ल्याउन सक्ने अवस्था यो निर्वाचन प्रणालीबाट सकिन्न’ उनले भने, ‘निर्वाचनमा ठूलो दल भए पनि बहुमत नभएको कारण एक अर्को दलसँग मिलेर सरकार सञ्चालनमा सहभागी भएका छाैं ।’
कांग्रेस केन्द्रीय सदस्य बहादुरसिंह लामाले कांग्रेसको सहभागितामा केन्द्रदेखि प्रदेशसम्मको सरकार सञ्चालनमा जनहितका कामहरु प्रशस्त भएको दाबी गरे । कार्यक्रममा कांग्रेस बागमती प्रदेस सभापति इन्द्र बानियाँ, नुवाकोटका पूर्वसभापतिहरु जगदीश्वरनरसिंह केसी, धुव्रप्रसाद अधिकारी लगायतले निर्वाचनमा गठबन्धन, सरकारमा सहभागीलगायत विषयमा पार्टीको तल्लो तहबाट जनमत लिएर मात्रै निर्णय गर्नुपर्ने सुझाव दिए ।
आजदेखि सुरु भएको कांग्रेस नुवाकोटको सम्मेलन बन्दसत्रमा पेस भएका जिल्लाको राजनीतिक तथा साङ्गठानिक विषयमा छलफल गर्दै सम्पन्न हुने जिल्ला सभापति रमेशकुमार महतले जानकारी दिए । राज्य पुनःसंरचनापश्चात् कांग्रेसले यो पहिलोपटक जिल्ला सम्मेलन गर्न लागेको हो ।
प्रतिक्रिया