मंगलबार, असार १७, २०८२

देश र जनताका लागि सहमतिका आधारमा अघि बढ्नुको विकल्प छैन : उप्रेती

नेपालखोज २०८० पुष १४ गते ११:५०

काठमाडौं । काठमाडौं केन्द्रित राजनीतिभन्दा जिल्ला र गाउँका जनताका समस्याको समाधानमा सहयोगी बन्नु सांसद हरिप्रसाद उप्रेतीलाई खुसीको विषय लाग्छ । त्यसैले उनले जिल्ला र गाउँमै बढी रहेर त्यहाँका विकास, निर्माण र जनताका साथमा बस्न र घुलमिल हुने कामलाई प्राथमिकता दिइरहेका छन् ।

हाल सङ्घीय संसद्को अधिवेशन सञ्चालन नभएकाले पनि होला नेकपा (एमाले) बाट निर्वाचित प्रतिनिधिसभा सदस्य उप्रेती चिसोले कठ्याङ्ग्रिएका सर्लाहीको दक्षिणी भेगका जनतालाई न्यानो कपडा वितरणमा व्यस्त रहेका छन् ।

विभिन्न स्रोत र साथीभाइसँग चन्दा उठाएर भए पनि स्थानीयवासीलाई न्यायो कम्बल वितरण गर्नु, उखु तथा दुग्ध किसानलाई समयमा उचित भुक्तानी दिलाउनु र अनुचित लेनदेन (मिटरब्याज) पीडितको आवाज सम्बोधन गराउनु उनको दैनिकी बनेको छ । आफूहरुले सर्लाहीबाट मिटरब्याज पीडितको आन्दोलनको अगुवाइ र थालनी गरेर उक्त मुद्दालाई केन्द्रस्तरसम्म स्थापित गर्न भूमिका खेलेको सांसद उप्रेतीको भनाइ छ ।

मिटरब्याज पीडितको आन्दोलनपछि सरकारले पीडितसँगको सहमतिका आधारमा प्रस्तुत गरेको कानुनलाई संसद्बाट छिटो पारित गराउन सकिएको विषयलाई सांसद उप्रेती एउटा उपलब्धि मान्नुहुन्छ । यद्यपी, उक्त कानुनको कार्यान्वयनका सवालमा जिल्ला जिल्लामा सहजता नदेखिएको र यसमा सरकारले पीडितका लागि प्रभावकारी काम नगरेको उनको आरोप छ ।

सर्लाही क्षेत्र नं ३ बाट निर्वाचित सांसद उप्रेती संसद् नचलेका बेलामा आफू जिल्लामै रहन र जनताका समस्या फुकाउनमा बढी समय दिने गरेको बताए । संसद् चल्दा पनि त्यहाँ बोलिएका कुरा लागू नहुँदा र सरकारको प्रभावकारी सेवा गाउँमा नपुग्दा सम्बन्धित निकायमा आफूहरु घच्घच्याउन बाध्य हुनुपरेको उनको अनुभव छ । त्यसैले होला, संसदको वर्तमान कार्यकालको एक वर्षे समय कस्तो रह्यो भन्ने प्रश्नमा उनको जवाफ सकारात्मक छैन ।

एक वर्षमा राम्रो र परिणाममुखी काम गर्न नसकिएको मूल्याङ्कनका क्रममा सांसद उप्रेती मुलुकको अवस्था दिनप्रतिदिन बिग्रँदो देख्नुहुन्छ । अर्थतन्त्र ओरालो लाग्न थालेको ठानेर चिन्तित उहाँ केन्द्रस्तरका कुरा गर्दागर्दै गाउँका जनताले रोजगारी, उद्यमशीलता र सेवामा सन्तुष्टि नपाएको तथा त्यसका लागि आफूले पर्याप्त भूमिका निर्वाह गर्न नपाएकामा थकथक मान्नुहुन्छ ।

प्रतिक्रिया