मंगलबार, असार १७, २०८२

सङ्घीयतालाई सुदृढ तुल्याउन प्रमुख शक्तिबीच न्यूनतम साझा सहमति आवश्यक छ : सांसद राना

नेपालखोज २०८० पुष १५ गते ९:०३

काठमाडौं । नेपाली कांग्रेसकी नेत्री एवं प्रतिनिधिसभा सदस्य सीताकुमारी रानाले पहिला टेलिभिजनमा देख्दै आएको संसद् र संसदीय समितिका बहस एवं छलफलमा आज आफैँ सहभागी हुने अवसर पाएकी छिन् । यी छलफलमा कतिपय नवआगन्तुक सांसदले देश, जिल्ला र क्षेत्रका जल्लाबल्दा विषयवस्तु प्रखररुपमा उठान गर्न अझै नसकेको उनले महसुस गरेकी छिन् ।

समानुपातिक निर्वाचन प्रणालीबाट सांसद भएकी रानाले संसद्मा पहिलो प्रवेश, कानुन तर्जुमा गर्ने गहन जिम्मेवारी र प्रक्रियामुखी नौलो अनुभवका कारण हुनसक्छ कतिपय केन्द्रीय जनप्रतिनिधिले समेत अझै जिल्लाका प्राथमिकता, विकास निर्माण, भौगोलिक स्थिति र समस्यालाई प्रखररुपमा राख्न नसकेको प्रतिक्रिया दिए ।

नेपाली कांग्रेसकी नेत्री रानाले संसदीय अभ्यासमा प्रवेश गरेको एक वर्ष पूरा गरिए पनि कतिपय कारणले आफ्नो उपस्थिति सोचेअनुरुप प्रभावकारी हुन सकेन कि भन्ने महसुस भएको बताए । उनले भने, ‘विधेयकलाई समृद्ध तुल्याएर गुणस्तरीय ऐन–कानुन निर्माण गर्नुपर्ने दायित्व धेरै छ । विधेयकमाथि गहन र बृहत् छलफल हुनुपर्छ । बनेका कानुन पनि कार्यान्वयनमा लैजान नसकेको महसुस गरेकी छु ।’

सांसद रानाले महिला सांसद भएकैकारण बोल्ने अवसरमा विभेद नगरिए पनि कतिपय अवस्थामा परिपक्व, पुराना र माथिल्ला तहका नेतालाई सम्मान गर्नुपर्ने परिस्थितिले कम समय प्राप्त हुने गरेको घटना सुनाइन् । उनले शून्य समयमा महिला भएकै कारण बोल्ने अवसर पाइरहे पनि विशेष समयमा भने कहिलेकाहीँ अवरोध महसुस गरेको प्रतिक्रिया दिइन्।

नेत्री रानाले जिल्लाका प्रमुख विषयवस्तु राख्ने र कानुनमा स–साना विषयमा पनि गम्भीरतापूर्वक केलाउने सम्बन्धमा कहीँ कतै आफ्नो त्यति राम्रो उपस्थिति भएन कि भन्ने लागेको मात्र हो भने । एक प्रश्नमा उनले भनिन्, ‘सदन जति प्रभावकारी र चलायमान हुनुपथ्र्यो यस अवधिमा त्यो नभएकै हो ।’

संसद्को महिला तथा सामाजिक मामिला समिति सदस्यसमेत रहेकी रानाले राजनीतिक परिवर्तनका प्रमुख शक्ति नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच हार्दिकता कायम गर्दै कानुन निर्माण र देश विकासमा एकाकार हुनुपर्नेमा त्यो नदेखिएकामा चिन्ता व्यक्त गरिन् । नेत्री रानाले भनिन्, ‘नयाँ कानुन कार्यान्वयन र भर्खर अघि बढाइएको सङ्घीयतालाई सुदृढ तुल्याउन प्रमुख शक्तिबीच न्यूनतम साझा सहमति आवश्यक छ । नेपाललाई समृद्ध र सुखी बनाएर मात्र दलका नेताले राजनीति र सिद्धान्तको अवधारणा बनाउनुपर्छ भन्ने लाग्छ ।’

नेपाली समाजलाई विखण्डन र विकृतितर्फ लैजान खोजिए कसैको पनि आदर्श र सिद्धान्त बाँकी नरहने चेतावनी दिँदै उनले देशका प्रमुख राजनीतिक शक्तिलाई संविधानका मूलभूत सिद्धान्त तथा देशको परिस्थितिलाई बुझेर एउटा निश्चित मापदण्ड बनाएर अघि बढ्न सुझाव दिइन् ।

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य पनि रहनुभएकी सांसद रानाले भनिन्, 'अब कति समयसम्म हामीले यस्तो द्वेषपूर्ण राजनीतिक गर्ने त १ राजनीतिकले टोल छिमेकमा विवाहलगायत कार्य गर्दा एकअर्कालाई राजनीतिले प्रभाव पारिरहेको छ । यो राजनीतिक दलभित्र मौलाएको तिक्तता र असमझदारीकै परिणाम हो ।'

आफू अघि बढ्ने सन्दर्भमा अर्काको विरोध मात्रै गर्ने प्रवृत्ति ठीक नभएको प्रतिक्रिया दिँदै उनले भनिन्, ‘समाजलाई विखण्डनतर्फ होइन, सकारात्मक सोचका आधारमा अघि बढाउनुपर्छ । कसैलाई एकोहोरो गाली गर्ने र होच्च्याउने काम गरिन हुन्न ।

समाजलाई बिगारिरहेको र प्रदूषित बनाइरहेको अति राजनीतिकरणलाई अब तत्काल सच्च्याउन आवश्यक रहेको बताउँदै नेत्री रानाले निर्वाचित जनप्रतिनिधिले दलको प्रतिनिधिका रुपमा नभई सबैको साझा हुँ भन्ने भावनाले जिम्मेवारी पूरा गर्नुपर्छ भनिन् । उनले भनिन्, ‘कृषि, जलस्रोत क्षेत्रको विकास र रोजगारीजस्ता विषयमा जनप्रतिनिधिले साझा धारणा बनाएर काम गरे मुलुकमा राजनीतिक स्थिरता पनि हुन्छ । अहिले जनप्रतिनिधिबीचको मतभिन्नताले कर्मचारी खटाएको स्थानमा परिचालित हुन नमानेका पक्षलाई पनि हेक्का राखिनुपर्छ ।’

नेपालको अहिलेको परिवेश हेर्ने र स्वतन्त्र मूल्याङ्कन गर्ने हो भने विकास नभएको होइन भन्दै उनले विकासलाई केबल भवन, सडक र पुल निर्माणलाई मात्र नभई समाजमा सकारात्मक सोचलाई प्रवद्र्धन गर्ने गरी सँगसँगै लैजानु पर्नेमा जोड दिइन् । नेत्री रानाले भनिन्, ‘जोसुकैले गरेको भए पनि असल कामलाई प्रोत्साहन गर्न सक्नुपर्छ । सहीलाई सही र गलतलाई गलतै भनेर जानुपर्छ । युवापुस्तालाई विकास भनेको भौतिक मात्र नभई सकारात्मक सोचमा परिवर्तन पनि हो भनी बुझाउन जरुरीछ ।’

प्रतिक्रिया