शहरको जनसंख्या २७ प्रतिशत मात्र

काठमाडौं । सरकारले राजनीतिक रुपमा नगरपालिका, उपमहानगरपालिका वा महानगरपालिका घोषणा गरेका क्षेत्र भित्र पनि ठूलो जनसंख्या अझै पनि ग्रामिण परिवेश र शहरोन्मुख अवस्थामा मात्र रहेको पाइएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार सार्वजनिक गरेको ग्रामिण तथा शहरी क्षेत्रको श्रेणीगत वर्गीकरण प्रतिवेदन अनुसार कुल जनसंख्याको २७ प्रतिशत जनसंख्यामात्र अर्धघना, घना र शहरी केन्द्रमा बस्ने देखिएको छ । प्रशासनिक रुपमा विभाजित महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकालाई शहरी क्षेत्रका रुपमा मानिन्छ ।
२०७८ सालको जनगणनाले महानगर, उपमहानगर र नगरपालिकाभित्र ६६.१७ प्रतिशत र गाउँपालिकामा ३३.८३ प्रतिशत मानिस बस्ने देखाएको छ । यसले ६६.१७ प्रतिशत मानिस शहरमा बस्छन् भन्ने भाष्य बनेको थियो । तर, यसले वास्तविक शहर र गाउँमा बस्ने जनसंख्याको उचित प्रतिविम्बित गर्न नसकेको भन्दै कार्यालयले शहरीकरणलाई पुनः परिभाषित गरेको छ । सोहीआधारमा प्रतिवेदन सार्वजनिक गरिएको कार्यालयका प्रवक्ता डा. हेमराज रेग्मीले जानकारी दिए ।
अर्धशहरी र शहरोन्मुख नगरपालिकाका धेरै मानिस ग्रामिण परिवेशमा बस्ने र यो शहरको परिभाषा भित्र नपर्ने भन्दै कार्यालयले अन्तर्राष्ट्रिय अभ्यासहरुको अध्ययन गरी स्थानीयकरण र पुनः परिभाषित गरिएको उनले जानकारी दिए । यसले नीति निर्माणमा सहयोग पुग्ने अपेक्षा समेत कार्यालयको छ ।
प्रतिक्रिया