शनिबार, जेठ ४, २०८२

सुनापति गाउँपालिकाले फिर्ता लियाे सार्वजनिक बिदा

नेपालखोज २०८० पुष १८ गते ६:१३

काठमाडौं । रामेछापको सुनापति गाउँपालिकाले बिहीबार दिएको सार्वजनिक बिदाको निर्णय फिर्ता लिएको छ । यसअघि गाउँपालिकाले भवन उद्घाटन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आउने दिन बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

गाउँपालिकाको उक्त निर्णयको विरोध भएपछि पुनः सूचना निकाल्दै सार्वजनिक बिदाको निर्णय फिर्ता लिएको जनाएको छ । ‘बिहीबारका दिन स्थानीय सार्वजनिक विदा दिने निर्णय भएकोमा उक्त सार्वजनिक बिदा फिर्ता लिने निर्णय भएकाले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ’, सूचनामा भनिएको छ ।

गाउँपालिकाका उपाध्यक्ष गिता बिष्टले भनिन, ‘पहिले बिदा दिने निर्णय गर्दा पनि गाउँपालिकाले कोहि कसैसँग सल्लाह गरेन । प्रधानमन्त्री ज्यूसँग वा उहाँको सचिवालयसँग पनि सल्लाह हुन सकेन । आलोकाँचो निर्णय भयो । प्रधानमन्त्री ज्यूको सचिवालयले पनि बिदा नदिन भनेर भन्यो । त्यसैले गाउँपालिकाले बिदा दिने निर्णयबाट फिर्ता भयौं ।’

गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णयपछि सामाजिक सञ्जालमा चर्को आलोचना भएको थियो । प्रधानमन्त्री प्रचण्डले पनि आफ्नो कार्यक्रमको कारण सार्वजनिक बिदा नदिन र बालबालिकाहरु आफ्नो कार्यक्रममा सहभागी नगराउन पनि सार्वजनिक निकायहरुलाई निर्देशन दिएको सचिवालय स्रोतले जनायो । यही निर्देशनपछि गाउँपालिकाले पुस १९ गते दिने भनेको सार्वजनिक बिदा फिर्ता लिने निर्णय गरेको हो ।

प्रतिक्रिया