बुधबार, असार १८, २०८२

मत बराबर भए प्रधानमन्त्रीको मत दोब्बर मान्ने

नेपालखोज २०८० पुष २० गते २०:३९

काठमाडौं । नेपाली कांग्रेसले संवैधानिक परिषदबाट निर्णय लिने सन्दर्भमा मत बराबर भए परिषदको अध्यक्ष (प्रधानमन्त्री)को मत दोब्बर मान्ने गरी कानुनी व्यवस्थाको प्रस्ताव राखेको छ ।

प्रधानमन्त्रीको अध्यक्षमा रहने परिषदमा ६ जना सदस्य हुन्छन् । अध्यक्ष र बहुमत सदस्य उपस्थित भए बैठक बस्न सक्ने प्रस्ताव कांग्रेसको छ । ६ जनामा बहुमत ४ हुन्छ । ४ जना उपस्थित बैठकमा निर्णय लिन सदस्यहरुको मत बराबर भए अप्ठ्यारो हुन सक्ने भन्दै कांग्रेसले प्रधानमन्त्रीको मत दोब्बर मानेर निर्णय लिने प्रस्ताव प्रस्तावित विधेयकमा राखेको हो ।

नेपाली कांग्रेसकोतर्फबाट प्रतिनिधि सभा सदस्य सुशीला थिङले संवैधानिक परिषद सम्बन्धी विधेयकमाथि यस्तो संशोधन प्रस्ताव राखेकी हुन् ।

उनको संशोधन प्रस्तावमा भनिएको छ, ‘बैठकमा अध्यक्ष र तत्काल बहाल रहेको कम्तीमा ५० प्रतिशत सदस्य उपस्थित भएमा बैठकका लागि गणपुरक संख्या पुगेको मानिनेछ । तर, बैठकमा सदस्य संख्या बराबर भइ निर्णय लिन नसक्ने अवस्थामा सदस्यको भन्दा अध्यक्षको मतभार दोब्बर भएकोले अध्यक्षको मत निर्णायक मानिनेछ ।’

प्रतिक्रिया