सोमबार, जेठ ६, २०८२

पाण्डवखानीमा सिद्धाथान–टापुधारा पदमार्ग निर्माण

नेपालखोज २०८० पुष २९ गते २०:२५

ढोरपाटन (बागलुङ) । गलकोट नगरपालिका–१० पाण्डवखानीमा पर्यटन प्रवद्र्धनका लागि पर्यटन पदमार्ग निर्माण गरिएको छ । पर्यटकीय क्षेत्र सिद्धाथानमा पर्यटक आकर्षण गर्न र यात्रालाई सहज बनाउन पदमार्ग गरिएको हो । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले चालु आर्थिक वर्षमा विनियोजन गरेको रु २० लाखबाट गाउँमा पदमार्ग निर्माण गरेको सिद्धाथान–टापुधारा पदमार्ग निर्माण समितिकी अध्यक्ष बेलकुमारी पुनले जानकारी दिनुभयो ।

भौगोलिक विकटताका कारण सिद्धथान र पाण्डवखानी गाउँ पर्यटनका हिसाबले निकै सम्भावना बोके पनि अहिलेसम्म पर्यटकलाई आकर्षण गर्न नसेको भन्दै यस वर्ष प्रदेश सरकारले बजेट व्यवस्थापन गरेपछि काम गरेको उहाँको भनाइ छ ।

यसभन्दा पहिला साँघुरो गोरेटोबाटोमा स्थानीय यात्रा गर्ने गरेको र संसानघाट पनि सिद्धाथानको शिरमा भएको हुँदा समस्या खेप्दै आएकामा अब सहज हुने अध्यक्ष पुनले बताउनुभयो । सिद्धथानदेखि टापुधारासम्म सात सय मिटर पक्की पदमार्ग निर्माण गरेको उहाँको भनाइ छ ।

सिद्धथानमा सामुदायिक घरबास रहेको हुँदा आगन्तुकलाई बढी सहज हुने उहाँ बताउनुहुन्छ । मङ्सिरको पहिलो हप्तादेखि सुरु गरी पुस दोस्रो साता सकिएको उहाँको भनाइ छ । “यो पदमार्ग खासगरी पर्यटन भित्र्याउनका लागि हो, स्थानीयलाई मसानघाटसम्म जान तथा वनजङ्गल गर्न पनि अब सहज हुनेछ, पहिले गाउँमा आउने पाहुना अप्ठ्यारो बाटोमा हिँड्नुपथ्र्यो, गाउँमा कसैको मृत्यु भएर संसानघाटमा लैजाँदा निकै समस्या हुने गरेको थियो, अब सहज हुने छ,” अध्यक्ष पुनले भन्नुभयो, “पदमार्गले गाउँको मुहार नै फेरिएको छ, घण्टौँ लागएर यात्रा गर्नुपर्ने बाटो पनि पदमार्गले गर्दा छोटिएको छ, सात सय मिटर पदमार्ग सबै सिमेन्ट र स्लेट ढुङ्गाले निर्माण गरेका छौँ ।”

गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापाले प्रदेशका ११ वटै जिल्लामा पर्यटन प्रवद्र्धन गर्नका लागि पदमार्ग बनाउने योजनाअनुरुप पाण्डपखानीमा यस वर्ष बनाइएको बताउनुभयो । मोटरबाटोले ग्रामीण क्षेत्रको सुन्दरतालाई कुरुप बनाइदिने जनाउँदै यस वर्ष धेरै जिल्लामा पर्यटन पदमार्ग निर्माण गरिरहेको मन्त्री थापाको भनाइ छ । पर्यटन उद्योग कार्यालय बागलुङमार्फत यहाँ पदमार्ग निर्माण गरेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “पाण्डवखानी वास्तवमै सुन्दर छ, यहाँको गाउँ, बस्ती, चालचलन र परम्परा पर्यटकका लागि आकर्षणको माध्यम हुन् तर अहिलेसम्म यहाँ आउने सडक स्तरोन्नति हुन सकेको छैन, यद्यपि पर्यटन मन्त्रालयले यस वर्ष २० लाख विनियोजन गरे पदमार्ग निर्माण गरेका छौँ, यसले पर्यटकलाई गाउँ घुम्न र सिद्धाथान वरपरका मनोरम दृश्यावलोकन गर्न मद्दत पुग्नेछ, पदमार्गको अनुगमन गरियो, राम्रो बनेको छ, अझै थप गर्नुपर्ने देखिएको छ, आगामी वर्षको बजेटमा पनि यसलाई समेटेर अन्य संरचना बनाउनुपर्नेछ ।”

प्रतिक्रिया