सोमबार, जेठ ६, २०८२

मेलम्चीको पानी काठमाडौँवासीलाई नियमित उपलब्ध गराउँछौं : प्रधानमन्त्री

नेपालखोज २०८० माघ १ गते १०:३१

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौँ उपत्यकावासीलाई मेलम्चीको पानी नियमितरुपमा उपलब्ध गराइने बताउनुभएको छ । सिंहदरबारमा आज आयोजित मेलम्ची खानेपानीको पथान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले दिगोरुपमा खानेपानी सेवा उपलब्ध गराउन नेपाल सरकार प्रयासरत रहेको बताए । प्रधानमन्त्री दाहालले खानेपानीको दिगो व्यवस्थापनका लागि दोस्रो चरणको याङ्ग्री तथा लार्के नदी डाइभर्सनको कार्यसमेत निश्चित कार्ययोजना बनाई अगाडि बढाइने उल्लेख गरे ।

काठमाडौं उपत्यकाको जनसङ्ख्याको चापलाई ध्यानमा राखेर खानेपानीको बढ्दो माग र आपूर्ति पूरा गर्नुपर्नेमा उनले जोड दिए । ‘काठमाडौं उपत्यकाको बढ्दो जनसङ्ख्यालाई सुरक्षित तथा दिगो खानेपानी सेवा उपलब्ध गराउन नेपाल सरकार प्रयासरत छ । मेलम्ची खानेपानी आयोजनाको हेडबक्सको निर्माणको कार्य यथाशीघ्र सम्पन्न गरी दोस्रो चरणको याङ्ग्री तथा लार्के नदी डाइभर्सनको कार्यसमेत निश्चित कार्ययोजना बनाई अगाडि बढाइनेछ’, प्रधानमन्त्री दाहालले भने ।

आयोजनाको दीर्घकालीन समस्या समाधानका लागि विस्तृत अध्ययन तथा ठोस कार्ययोजना बनाई पुनःनिर्माण कार्य कार्यान्वयन गरिने तथा हाल प्रयोग हुँदै आएको वैकल्पिक प्रणालीलाई पनि बाह्रैमास सञ्चालन गर्ने गरी व्यवस्था मिलाउन प्रधानमन्त्री दाहालले सम्बन्धित पदाधिकारीलाई निर्देशन दिए । उपत्यकाभित्र खानेपानी वितरणको कार्य नयाँ वितरण सञ्जालमार्फत समानुपातिक, सुरक्षित तथा तोकिएको परिमाणको खानेपानी सेवा २४ सैँ घण्टा उपभोक्ता सदस्यको धारामा वितरण गर्ने व्यवस्था मिलाउनसमेत उनले निर्देशन दिए ।

प्रतिक्रिया