सोमबार, जेठ ६, २०८२

‘गोला ढुङ्गा र काँचो माटोबाट घर बनाउन प्रोत्साहन नगरौँ’

नेपालखोज २०८० माघ १ गते १२:४३

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गोला ढुङ्गा र काँचो माटोबाट बनेका घर निर्माण गर्न प्रोत्साहन नगर्न अनुरोध गरेको छ ।

गोला ढुङ्गा र काँचो माटोबाट बनेका घर भूकम्पबाट अति जोखिममा रहने भएकाले यस्ता घर निर्माणमा कसैलाई पनि प्रोत्साहन नगर्न अनुरोध गरेको हो । जाजरकोट भूकम्पमा परेर क्षति भएका घरहरु यस्तै ढुङ्गा र काँचो माटोबाट बनेका धेरै रहेको बताउँदै प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले यसतर्फ सर्वसाधारण पनि आफैँ सचेत हुनुपर्नेमा जोड दिए ।

उनले सरोकारवाला निकाय तथा स्थानीय तहले यस्ता घर निर्माणमा प्रोत्साहन गर्न नहुने बताए । पोखरेलले कर्णाली प्रदेशमा यस्ता काँचो माटो र डल्लो ढुङ्गाबाट बनेका घरहरु करिब ८० प्रतिशत रहेको जानकारी गराउँदै अब गोला ढुङ्गाबाट घर नबनाउन अनुरोध गरे ।

प्रमुख कार्यकारी अधिकृत पोखरेलले प्राधिकरणले अब गोला ढुङ्गाबाट घर बनाउने चलनलाई अन्त्यका लागि योजना बनाएर अघि बढ्ने बताए । उनले विपद् व्यवस्थापनको प्रमुख जिम्मा स्थानीय तहको बढी हुने भएकाले पालिकाले यस विषयमा बढी ध्यान दिनुपर्नेमा जोड दिए । तीनै तहका सरकारसँगको समन्वयमा मात्रै विपद् व्यवस्थापनका काम प्रभावकारी गर्न सकिने प्राधिकरणको भनाइ छ ।

भूकम्प प्रतिरोधी घर निर्माणमा सर्वसाधारणलाई प्रोत्साहन गर्न प्रधिकरणले योजना बनाइरहेको उहाँले जानकारी दिनुभयो । प्राधिकरणले गोला ढुङ्गालाई काट्ने फलामको आरोको बन्दोबस्त गर्ने जनाउँदै पोखरेलले सहरी विकास मन्त्रालय तथा प्राधिकरणले पुनःनिर्माणमा उक्त आरोको प्रयोग गरी निर्माण सामग्री तयार गर्ने गर्ने योजना बनाइरहेको बताए ।

‘इन्टरलकिङ्का इँट्टका घरहरु २०७२ को भूकम्पमा प्रयोग गरिएको थियो । अहिले ती घर सुरक्षित छन् । गोला डुङ्गाका घर भने भूकम्पीय जोखिममा छन्’, उनले भने, ‘त्यसैले यस्ता घर निर्माण नगर्न प्राधिकरणले सबैमा अनुरोध गरेको छ ।’

प्रतिक्रिया