चेपाङ गाउँमा कृषि एम्बुलेन्सले ल्याएको परिवर्तन

भरतपुर । चेपाङ गाउँ हपनीमा बिहान सबेरै चहलपहल सुरु हुन्छ । निन्द्रामा रहेका गाउँलेलाई पनि हर्न बजाउँदै आएको एम्बुलेन्सले ब्यूँझाउँछ । बिहान ४ बजे हर्न बजाउँदै आउने एम्बुलेन्स बिरामी मान्छे नभई तरकारी र फलफूल बोक्ने गर्छ । चितवनको इच्छाकामना गाउँपालिका–२ हपनीमा गाउँपालिकाको ७५ प्रतिशत अनुदानमा सञ्चालनमा ल्याइएको कृषि एम्बुलेन्सले यहाँका स्थानीयको जीवनमा परिवर्तन ल्याउन थालेको छ ।
एम्बुलेन्स हर्न बजाउँदै गाउँ उक्लिएपछि गाउँलेले आफूसँग भएको उत्पादनलाई सडकसम्म ल्याउँछन् । गाउँलेको सामान लोड गरेपछि एम्बुलेन्स बजार झर्छ । गाउँपालिकाले ७५ प्रतिशत अनुदानमा दिएको कृषि एम्बुलेन्स हपनीका चेपाङ समुदायका लागि आयस्रोतको सजिलो माध्यम कृषि एम्बुलेन्स बनेको छ ।
कृषि एम्बुलेन्स चालक दीपककुमार प्रजाले बिहानै ४ बजे उठेर हपनी, माझखर्क ओल्र्याङबाट किसानको तरकारी फलफूल र अन्य सामाग्री गाडीमा लोड गरेर फिस्लिङ, मौवाखोला, शक्तिखोर, टाँडीलगायतका बजारसम्म लैजाने गरेका छन्। दिनभर किसानका सामान बेचेपछि उनी साँझ गाउँ फर्किन्छन् र किसानको आम्दानी बुझाउछन् ।
गाउँमा उत्पादन भएका तरकारी, फलफूल, डोको नाङ्लोलगायतका सबै उत्पादन बिक्रीका लागि बजार लैजाने गरेको उनले बताए । यहाँ उत्पादन हुने फलफूल र तरकारी प्रायः अर्गानिक हुने गरेको उनले बताए । उनले गाउँमा एम्बुलेन्स सञ्चालन भएपछि धेरै किसानले व्यावसायिकरुपमा तरकारी खेती गर्न थालेको बताए ।
किसानको कामअनुसार आफू गाउँपालिकाका अन्य वडामा समेत कृषिजन्य सामग्री बोक्नका लागि जाने गरेको बताउँदै उनले प्रायः समय खाली बस्न नपरेको बताए । गाउँमा कृषि एम्बुलेन्स सञ्चालन भएको छ महिना भएको भन्दै उनले अहिले सबै घर कृषि उत्पादनमा जोडिएको बताए ।
गाउँबाटै सबै सामान बिक्री हुने भएपछि हातमा सीप भएकाहरूले डोको नाङ्लो बुन्ने गरेका छन् । हपनी कृषक समूहको अध्यक्ष टेकबहादुर चेपाङ कृषि एम्बुलेन्सले गाउँलेलाई उत्साहित र जाँगरिलो बनाएको बताउछन् ।
अहिले आफ्नै गाडीले सामान लैजादा बजार र मूल्यको समेत चिन्ता नरहेको उनले बताए । समूहमा ३५ घरधुरी आबद्ध छन् । यहाँका ५३ घरधुरीमध्ये आधा बढी सहकारीमा आबद्ध रहेको र अन्य पनि आबद्ध हुने तयारीमा रहेको टेकबहादुरले जानकारी दिए ।
हपनीका कृषक पदमबहादुर चेपाङ यस वर्ष सखरखण्ड, तरुललगायतका कृषि उत्पादन बिक्री गरेको बताए । एम्बुलेन्स ९बोलेरो० चलेपछि धेरै सहज भएको भन्दै उनले आफ्नै गाउँठाउँका दाजुभाइले घरबाटै सामान लगेर घरमै पैसा ल्याइदिने गरेको बताए । “उत्पादन गरे बजारको चिन्ता छैन, आजभोलि खेती किसानी गर्न पनि जाँगर लागेको छ”, उनले भने, “पछिल्लो समय गाउँमा बाँदरले खेतीबाली नष्ट गर्ने समस्या भने छ ।”
गाउँबाटै कृषि एम्बुलेन्स चलेपछि स्थानीयले उत्पादन गरेको दुई मुठा सागले पनि बजार पाएको स्थानीय अगुवा शेरबहादुर प्रजा बताउछन् ।
वडा नं २ का अध्यक्ष पञ्चबहादुर चेपाङका अनुसार करिब पाँच÷छ वर्षदेखि यहाँका किसानले व्यावसायिकरुपमा कृषि कर्म गर्दै आएका छन् । गाउँलेले गोलभेँडा, रायो, स्कुस, धनियाँ, तरुल, सखरखण्ड, पिँडालु, केराउ, सिमीलगायतका तरकारी खेती उत्पादन गर्दै आएका छन् । ती सबैले राम्रोसँग बजार पाउँदा त्यसले समग्र गाउँलाई नै फाइदा पुगेको उनी बताउछन् ।
गाउँपालिकाले किसानको आवश्यकताअनुसार मल र बिउमा ५० प्रतिशत अनुदान दिँदै आएको वडाअध्यक्ष चेपाङले जानकारी दिए। वडा नं २ मा हपनीसहित वल्र्याङ, मैतेस, माझखर्क, हुस्ती, तल्लो काउले, माथिल्लो काउले, थापाथली, तोलाङ, छापडाँडालगायतका गाउँमा व्यावसायिकरुपमा तरकारीखेती गर्दै आएका छन् ।
तरकारीखेतीका आलवा बाख्रापालन, चोयाको सामग्री बनाउनेजस्ता कार्यमा समेत यहाँका चेपाङ समुदाय अग्रपङ्क्तिमा रहेको उनले बताए । किसानको आवश्यकताअनुसार गाउँमा पुगेको कच्ची सडकलाई स्तरोन्नति गर्नुपर्ने आवश्यकता रहेको अध्यक्ष पञ्चबहादुरले बताए ।
इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङ हपनी उदाहरणीय चेपाङ गाउँ बन्दै गएको बताए । उनले यहाँका चेपाङ समुदायको आयस्तर उकास्न र उनीहरुलाई व्यावसायिक बनाउन गाउँपालिकले एम्बुलेन्स उपलब्ध गराएको बताए । अन्य ठाउँबाट पनि एम्बुलेन्सको माग हुँदाहुँदै पनि चेपाङ समुदायको बस्ती रहेको क्षेत्रलाई प्राथमिकतामा राखेर एम्बुलेन्स उपलब्ध गराएको उनले जानकारी दिए ।
गाउँपालिकाले यस वर्ष दुई वडामा एक एक वटा कृषि एम्बुलेन्स दिने तयारीमा रहेको बताए । वडा नम्बर १ को सिराइचुली कृषि सहकारी हात्तीबाङ र वडा नं ७ को दाहाखानीस्थित लालीगुँरास कृषि समूहलाई कृषि एम्बुलेन्स दिने तयारी गरिएको छ । एउटा पनि बोलेरो गाडी नभएको ठाउँलाई लक्षित गरेर कृषि एम्बुलेन्स दिन लगिएको अध्यक्ष गुरुङले जानकारी दिए । इच्छाकामना गाउँपालिका समृद्धि कृषि र पर्यटनबाट मात्र सम्भव रहेको भन्दै उनले पालिकाले पनि यसैलाई प्राथमिकता दिएर काम गरिरहेको बताए।
प्रतिक्रिया